बारा–४ मा एकवाल र किसानको टक्कर - Chaitanya News
  • 2026-04-24
  • 22:16:45
  • शुक्रबार,बैशाख ११, २०८३
  • बारा–४ मा एकवाल र किसानको टक्कर

    बारा–४ मा एकवाल र किसानको टक्कर

    वीरगञ्ज– पूर्वमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता कृष्णकुमार श्रेष्ठ ‘किसान’ले बारा ४ बाट उम्मेदवारी दर्ता गराए। ०७४ को निर्वाचनमा नेकपा एमालेका तर्फबाट तनहुँ १ मा रामचन्द्र पौडेललाई पराजित गरेर उनी चर्चामा आएका थिए। यसपटक उनी बारा पुगेका हुन्।

    सत्ता गठबन्धनबाट प्रदेश सभा सदस्य तर्फ ‘क’ मा नेकपा माओवादी केन्द्र बाराका अध्यक्ष समेत रहेका क्षेत्रबहादुर श्रेष्ठ (अनिल) र ‘ख’मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका मधेश प्रदेश इन्चार्ज जितेन्द्र सोनलले उम्मेदवारी दर्ता गराएका छन्।

    एमाले–जसपा गठबन्धनबाट प्रतिनिधि सभामा एकबाल मियाँ, प्रदेश सभा सदस्य तर्फ ‘क’ मा नेकपा एमालेका देव नारायण थारु र ‘ख’ मा जसपाका आत्माराम साहले उम्मेदवारी दिएका छन्। तत्कालीन राजपा नेपालबाट चुनाव जितेका निवर्तमान सांसद मियाँले सत्तारुढ गठबन्धनबाट टिकट नपाउने भएपछि पार्टी परिवर्तन गरेका हुन्।

    एमालेले प्रतिनिधि सभा सदस्यका लागि देवनारायण थारुको एकल नाम सिफारिस गरेको थियो। मिया एमाले जसपा गठबन्धनबाट प्रतिनिधि सभा सदस्यमा उठेपछि चौधरीलाई प्रदेश सभा सदस्यको उम्मेदवार बनाइएको छ। ०७४ को निर्वाचनमा २२ हजार २७५ मत ल्याएर निर्वाचित हुँदा थारु २० हजार ६०७ मत ल्याएर दोस्रो स्थानमा थिए। पार्टीमा योगदान नै नगरेको व्यक्तिलाई पार्टीले प्रतिनिधि सभा सदस्यमा उठाएको भन्दै एमालेको एउटा पक्ष असन्तुष्ट छ।

    मियाँले मुस्लिम समुदायको र दक्षिणी क्षेत्रको मत बढी पाउने एमालेको अपेक्षा छ। प्रदेश सभा ‘ख’ मा पनि एमालेकै उम्मेदवारलाई उठाउनुपर्नेमा जसपासँग तालमेल गरिएको भनेर असन्तुष्टि जनाउने पक्षको भोट पनि बहकिन सक्ने एमालेकै नेताहरु स्विकार्छन्।

    यी सबै कमीकमजोरीको फाइदा किसानले लिन सक्नेछन्। सत्ता गठबन्धनले इमान्दारिता देखाएको खण्डमा किसानकै पल्ला भारी रहेको कतिपयको आँकलन छ।

    स्वतन्त्रबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका इच्छाबहादुर वाग्ले र प्रदेश सभा सदस्य निरु रायमाझीले काँग्रेसको केही भोट ताने पनि आफूहरुलाई खासै असर नपर्ने गठबन्धनका नेताहरुले बताएका छन्। लोसपाका प्रभावशाली नेता जितेन्द्र सोनलको साथले मधेसी मुस्लिम समुदायको भोट पनि पाउने किसानका समर्थकहरुको दावी छ।

    मनोनयन दर्तापछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै नेता श्रेष्ठले बारा ४ नं. क्षेत्रको पथलैयादेखि वीरगञ्जसम्मको अव्यवस्थित करिडोरलाई व्यवस्थित गर्ने, उद्योगीलाई विश्वासमा लिएर स्थानीय बेरोजगार युवालाई रोजगारी दिलाउने, बाउबाजेको पालादेखि लालपुर्जा विहीन पथलैयावासी, अव्यवस्थित बसोवासी सुकुम्वासी, घरबार विहीन दलितलाई व्यवस्थापन गर्ने वाचा गरेका छन्।

    निर्वाचित भइसकेपछि अन्तर्राष्ट्रिय विमानस्थल, फाष्ट ट्रयाक, सिमरा सेजलाई पूर्णरुपमा सञ्चालनमा ल्याउने गरी ध्यान केन्द्रित गर्ने उनले बताए।