भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) का लागि आज २३ अगस्टको दिन ऐतिहासिक बन्न सक्छ । सबै ठीकठाक रहेमा चन्द्रयान–३ बाट छुट्टिएको ल्याण्डर चन्द्रमाको दक्षिणी ध्रुवको सतहमा उत्रिने छ । संसारको कुनै पनि देशको यान अहिलेसम्म चन्द्रमाको यो हिस्सामा सफ्ट ल्याण्डिङ गर्न सफल भएका छैन । आखिर त्यो क्षेत्रमा किन यानहरू सफलतापूर्वक अवतरण गर्न सकेका छैनन् ? चन्द्रमाको कालो क्षेत्रमा यान पठाउन शक्ति राष्ट्रहरूबीच किन प्रतिस्पर्धा भइरहेको छ ? यसबारे जान्ने प्रयास गरौँ ।
चन्द्रमाको उक्त क्षेत्रको विशेष भौगोलिक पृष्ठभूमि निकै अप्ठेरो छ । हामीले देखिरहेको चन्द्रमाको उज्यालो हिस्साको तुलनामा छायामा परेको भाग निकै रहस्यमयी पनि छ । चन्द्रमा पठाइएका अधिकांश मिसन चन्द्रमाको भूमध्येरेखीय क्षेत्रमा पुगेका छन्, जहाँको जमिन दक्षिणी ध्रुवको तुलनामा सपाट छ ।
उता चन्द्रमाको दक्षिणी ध्रुवमा ज्वालामुखी छ । त्यहाँको जमिनमा ठूल्ठूला क्रेटर छन् । चन्द्रयान–३ ले चन्द्रमा सतहको जुन तस्वीर पठाएको छ, त्यसमा गहिरो खाल्डो र अप्ठ्यारो जमिन देखिन्छ ।
चन्द्रमाको दक्षिणी ध्रुव करिब २५ सय किलोमिटर चौडा छ । यो आठ किलोमिटर गहिरो खाल्डोको किनारमा छ । यसलाई सौर्यमण्डलको सबैभन्दा पुरानो इप्याक्ट क्रेटर मानिन्छ । कुनै ग्रह वा उपग्रहमा भएका यस्ता खाल्डो कुनै ठूलो उल्का पिण्ड वा ग्रहको ठक्करबाट बन्छन् ।
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका परियोजना वैज्ञानिक नोहा पेट्रो उक्त क्षेत्रमा चन्द्रयान–३ पुग्ने महत्त्वलाई बयान गर्दै भन्छन्, ‘ध्रुवमा उत्रेर तपाईं त्यो क्रेटर र यसको महत्त्वलाई बुझ्न सुरु गर्न सक्नुहुन्छ ।’
नासाका अनुसार, चन्द्रमाको दक्षिणी ध्रुवमा सूर्य क्षितिजको मुनि वा हल्का माथि रहन्छ । यस्तोमा जति दिन सूर्यको धेरेथोर प्रकाश दक्षिणी ध्रुवमा पुग्छ, ती दिन तापमान ५४ डिग्री सेल्सियस पुग्छ ।
तर यस क्षेत्रमा विभिन्न गगनचुम्बी पर्वत वा गहिरा खाल्डाहरू छन् । पर्वतको छायामा पर्ने हिस्सामा तापमान माइनस २०३ डिग्री सेल्सियसदेखि माइनस २४३ डिग्री सेल्सियससम्म पुग्छ ।
अहिले त अत्याधुनिक सेन्सर उपलब्ध रहेको नासा बताउँछ तर खाल्डाखुल्डी र प्रकाशसँग जोडिएको परिस्थितिका कारण चन्द्रमाको दक्षिणी ध्रुवमा उतारिने यानका लागि जमिनी परिस्थितिको अनुमान लगाउन मुस्किल हुन्छ । यसका साथै यानका केही सिस्टम घटबढ हुने तापमानका कारण प्रभावित हुन सक्छन् ।
चन्द्रमा अहिलेका लागि भारत मात्र होइन, रुस र चीनको अन्तरिक्ष एजेन्सीका लागि पनि रुचिको विषय हो । रुसले चन्द्रयान–३ पछि नै आफ्नो अभियान लुना– २५ लाई चन्द्रमातिर पठाएको थियो । यसले पनि चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्नुपर्ने थियो । तर, २० अगस्टमा अनियन्त्रित भएर यो चन्द्रमाको सतहमा दुर्घटनाग्रस्त भयो । ४७ वर्षपछि चन्द्रमामा रुसले पठाएको पहिलो अन्तरिक्ष यान असफल रह्यो ।
पानीको खोज
चीन पनि चन्द्रमामा आफ्नो अभियान सुरु गर्ने तरखरमा छ । भारत चन्द्रयान–३ र चन्द्रयान ४ पछि सन् २०२६ मा जापानसँग मिलेर जोइन्ट पोलर एक्सप्लोरेसन मिसनमा काम गर्दै छ, जसको उद्देश्य चन्द्रमाको अँध्यारो हिस्साबारे जानकारी हासिल गर्नु नै हो ।
विज्ञका अनुसार, चन्द्रमाको जोखिमपूर्ण क्षेत्रमा पुग्ने प्रतिस्पर्धाका धेरै कारणमध्ये एक पानीको खोज हो । नासाको अन्तरिक्ष यान लुनर रिकानसन्स ओर्बिटरको तर्फबाट जुटाइएका आँकडाले के संकेत गर्छन् भने चन्द्रमामा अँध्यारोमा डुबेको गहिरो गड्ढामा बरफ छ ।
बरफको उपलब्धताको आधारमा अनुमान लगाइँदै छ, यसबाट चन्द्रमामा मानिसलाई पठाउने बाटो खुल्न सक्छ । गुरुत्वाकर्षण कम भएकाले चन्द्रमामा कुनै खालको वायुमण्डल छैन । यस्तोमा पानी ठोस वा ग्यासको अवस्थामा उपलब्ध हुन सक्छ । अमेरिकी युनिभर्सिटी नोत्रे डेममा प्लानेटरी जियोलोजीका प्रोफेसर क्लाइभ निल भन्छन्, ‘अहिलेसम्म यो बरफ हासिल गर्न सक्ने किसिमले देखिएको छैन । अर्को शब्दमा भन्दा यो यस्तो जलस्रोत हो, जसबाट कम खर्चमै पानी हासिल गर्न सकिन्छ ।’
वैज्ञानिकका लागि चन्द्रमामा पानी भेटिने सम्भावनाले कैयौँ अपेक्षालाई जन्म दिन्छ । चन्द्रमामा चिसो ध्रुवीय क्षेत्रमा सूर्यको विकिरणबाट बचेको बर्फिलो पानी पछिल्ला लाखौँ वर्षदेखि जमेको हुन सक्छ । वैज्ञानिकले यसखालको बरफको नमूना पाए भने उनीहरूलाई हाम्रो सौर्यमण्डलमा पानीको इतिहास बुझ्न सजिलो हुने छ ।
युरोपेली स्पेस एजेन्सीसँग काम गर्ने बेलायतको ओपन युनिभर्सिटीकी प्लानेटरी साइन्टिस्ट सिमोन बार्बर भन्छिन्, ‘यसपछि हामी यी प्रश्नको जवाफ खोज्न सक्छौँ– पानी कहिले आयो ? कहाँबाट आयो ? पृथ्वीमा जीवनको विकासका लागि यसको निहितार्थ के हो ?’
प्रोफेसर बार्बरका अनुसार, चन्द्रमामा अन्तर्राष्ट्रिय स्पेस एजेन्सीहरूले विशेष रुचिका लागि चन्द्रमाको सतहमुनि पानी खोज्नुभन्दा बढी व्यावहारिक कारण पनि छ । संसारका विभिन्न देश चन्द्रमामा मानिसलाई पठाउने योजना बनाइरहेका छन् । तर अन्तरिक्ष यात्रीलाई चन्द्रमामा बस्न पानीको आवश्यकता पर्छ ।
पृथ्वीबाट चन्द्रमासम्म पानी पु¥याउन असाध्यै महँगो हुन्छ । किनकि, पृथ्वीबाट एक किलोग्राम सामान बाहिर लैजाँदा एक मिलियन डलर खर्च हुन्छ । प्रोफेसर बार्बर भन्छिन्, ‘यस्तोमा प्रति लिटर पानीको मूल्य एक मिलियन डलर हुन्छ । अन्तरिक्ष क्षेत्रमा उत्रिरहेका व्यवसायी निश्चित रूपले चन्द्रमाको बरफलाई अन्तरिक्ष यात्रीलाई पानी उपलब्ध गराउने अवसरका रूपमा हेरिरहेका छन् ।’
यति मात्र होइन, पानीका अणुहरूलाई हाइड्रोजन र अक्सिजन परमाणुमा तोड्न सकिन्छ, जसको उपयोग रकेट प्रोपेलेन्ट्सका रूपमा गरिन्छ । तर सबैभन्दा पहिले, वैज्ञानिकहरूले चन्द्रमा कति बरफ छ, कुन रूपमा छ र यसलाई कुशलतापूर्वक निकालेर पिउने पानीका रूपमा शुद्ध गर्न सकिन्छ कि सकिँदैन भनेर पत्ता लगाउनुपर्ने हुन्छ ।