गुल्मी– गुल्मी जिल्लाको रेसुङ्गा विमानस्थलमा २ महिनायता उडान अवरुद्ध भएको छ। साताको २ दिन बुधबार र शुक्रबार उडान तालिका राखेको नेपाल एयरलाइन्सले प्रतिकूल मौसमका कारण उडान हुन सकेको छैन। जेठको अन्तिम सातापछि मौसम खराबको कारण उडान हुन सकेको छैन।
पछिल्लो पटक गत ६ असार बुधबार काठमाडौंबाट रेसुङ्गा विमास्थलका लागि छुटेको जहाज मौसम खराबको कारण बिच बाटोबाटै काठमाडौं फर्किएको थियो। त्यसपछि रेसुङ्गा विमानस्थलबाट उडान हुन सकेको छैन।
रेसुङ्गा विमानस्थलका लागि काठमाडौंबाट बिहान ६ बजेर ३० मिनेटमा जहाज उडान गर्दछ । रेसुङ्गा विमानस्थलबाट काठमाडौंका लागि बिहान ७ बजेर ४५ मिनेटमा उडान गर्ने समय तालिका रहेको छ।
तर उडान गर्ने बिहान समयमा विमानस्थलमा बादल लाग्ने गर्नाले उडान गर्न समस्या हुँदै आएको रेसुङ्गा विमानस्थलका वरिष्ठ अधिकृत तथा एयर ट्राफिक कन्टोलर अस्मिता बस्नेतले बताइन्। भदौ महिनामा पनि नियमित वर्षात भइरहेकाले मौसम उडान गर्न समस्या हुँदै आएको उनको भनाइ छ।
रेसुङ्गा विमानस्थलमा बिहानी समयमा मात्रै उडानको लागि उपयुक्त हुने बताइएको छ। मध्यान्हमा हावा चल्ने भएकाले उडान गर्न समस्या हुने गर्छ। रेसुङ्गा विमानस्थलबाट काठमाडौं सम्मको शुल्क प्रतिव्यक्ति ६ हजार ३ सय रुपैयाँ लाग्नेछ। त्यस्तै काठमाडौंबाट रेसुङ्गा विमानस्थलसम्म ६ हजार ५ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ। विमानस्थलबाट नियमित जहाज चल्दा टिकट पाउनै मुस्किल पर्ने गरेको थियो १५ जनाको टिकटका लागि करिब ६० जना सम्मको माग थियो। सुरुमा हप्ताको एक दिन उडान गरेको विमानस्थलबाट यात्रुको चापका कारण एक दिन थप गरेर दुइ दिन उडान गर्न थालिएको थियो।
रेसुङ्गा विमानस्थल रेसुङ्गा नगरपालिकाको वडा नम्बर–१० को सिमीचौरमा पर्दछ। जिल्ला सदरमुकाम तम्घासबाट करिब ५ किमिलोमिटर कच्चीबाटो भएर विमानस्थल पुग्न सकिन्छ।
गुल्मीबाट काठमाडौंसम्म गाडीको यात्रा झण्डै १३ देखि २२ घण्टासम्म यात्रा गर्नुपर्ने अवस्थामा रहेको छ। वर्षातको समयमा त झनै कष्टपूर्ण यात्रा गर्नुपर्ने अवस्था यहाँका नागरिकहरुलाई छ।
व्यावसायिक उडान सुरु हुनुले अब जिल्लामा पर्यटकहरु पनि भित्रिने यहाँका व्यवसायिहरु आशा गरिएको थियो। विमानस्थलमा गत १५ वैशाखमा नेपाल एयरलाइन्सको १८ सिट क्षमताका जहाजले परीक्षण उडान गरेको थियो।