टिकट वितरणमा दलको नजरमा परेनन् युवा - Chaitanya News
  • 2026-04-24
  • 21:47:31
  • शुक्रबार,बैशाख ११, २०८३
  • टिकट वितरणमा दलको नजरमा परेनन् युवा

    टिकट वितरणमा दलको नजरमा परेनन् युवा

    काठमाडौं- आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आइतबार देशभर उम्मेदवारी दर्ता भयो। प्रमुख पार्टीबाट प्रायः पुरानै अनुहार दोहोरिए।

    पुरानै अनुहारलाई दोहोर्‍याउँदा युवाहरूमा चरम असन्तुष्टि देखिएको छ। टिकट बाँडफाँटमा असन्तुष्टि जनाउँदै धेरैले बागी उम्मेदवारी दिएका छन्। अधिकांश उम्मेदवार ५० वर्ष वरिपरि वा ५० कटेका रहेका छन्।

    ‘सबैले युवा भने पनि यथार्थमा युवालाई यस पटक पनि मौका दिएको देखिएन। युवाको नाम भजाएर खानेहरूलाई हाम्रो चुनौति छ,’ कैलाली ५ (ख) बाट बागी उठेका कांग्रेस नेता क्षितिज भण्डारी भन्छन्। पार्टीमा युवाको महत्त्वपूर्ण भूमिका रहे पनि नेतृत्व तहले अझै पनि जिम्मेवारीमा पुरानै अनुहार दोहोर्‍याउन चाहेको उनको आरोप रहेको छ। त्यसैको विरुद्धमा आफ्नो उम्मेदवारी रहेको उनी बताउँछन्।

    ठूला दलले चुनाव नजित्ने अवस्था रहेका ठाउँमा मात्र युवालाई टिकट दिइएको आरोप युवा नेताहरूको छ।

    प्रमुख राजनीतिक दलले युवालाई टिकटमा वञ्चित गर्दा २०७४ को संसदीय र गत स्थानीय निर्वाचनमा भन्दा ४ प्रतिशतले युवा उम्मेदवारको संख्या घटेको छ।

    प्रतिनिधिसभाको १ सय ६५ सिटमा २ हजार ५ सय ३१ र प्रदेशसभाको ३ सय ३० सिटमा ३ हजार ४ सय ८१ गरी ६ हजार १२ जना उम्मेदवार छन्, जसमध्ये २५ देखि ४० वर्षसम्म उमेर समूहका १ हजार ८ सय ५३ जना अर्थात् ३० दशमलव ८२ प्रतिशत मात्रै युवा छन्।

    २०७४ को निर्वाचनमा ३४.८५ प्रतिशत युवा उम्मेदवार थिए। प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका ५ हजार १ सय ९० जनामध्ये १ हजार ८ सय ९ अर्थात् ३४ दशमलव ८५ प्रतिशत ४० वर्षमुनिका थिए।