काठमाडौं– मलेसियामा जारी चार देश सहभागी महिला टी– २० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाअन्तर्गत नेपालले घरेलु टोलीलाई ८४ रनको लक्ष्य दिएको छ।
मलेसियाको बायोमास स्पोट्र्स एण्ड इभेन्ट कम्प्लेक्समा निर्धारित १८ ओभरमा ७ विकेट गुमाउँदै ८३ रन बनाएको हो। वर्षाका कारण खेल रोकिएपश्चात खेल २ ओभरमा घटाइएको हो।
नेपालका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक २३ रन बनाइन्। उनले २ चौका र १ छक्का प्रहार गरेकी हुन्। ओपनर पुजा महतो ४ बलमा १ रन बनाउँदै एना हमिज हसिमको बलमा पहिलो ओभरको पाँचौं बलमा नै एलबीडब्ल्यु आउट हुन पुगिन्।
ओपनिङमा आएकी काजोलले २१ बलमा १ चौका सहित १८ रन बनाइन्। दोस्रो विकेटका लागि काजोल र इन्दुले २५ रनको साझेदारी बनाए।
त्यसपछि आएकी सीता राना मगर १३ बलमा ९ रन बनाउँदै क्याच आउट भइन्। इन्दु बर्माले ३३ बलमा २० रन बनाउँदै चौथो विकेटका लागि कप्तान रुबिना क्षेत्रीसँग ३० रनको साझेदारी बनाइन्।
कविता कुँवर १, सम्झाना खड्का २ रन बनाए। कविता जोशी र बिन्दु रावल १ रनमा अविजित रहे।