काठमार्डौं– प्रधानमन्त्री शेरबहादुर देउवाले जसपाबाट सरकारमा सहभागी मन्त्रीहरूको जिम्मेवारी खोस्ने तयारी गरेका छन्। नेकपा एमालेसँग चुनावी गठबन्धन गरेको जसपाका मन्त्रीहरूलाई जिम्मेवारीबिहीन बनाउन लागिएको कांग्रेस उच्च स्रोतले जानकारी दियो।
सत्ता गठबन्धनमा छलफल गरेर जसपा मन्त्रीहरूको जिम्मेवारी खोस्ने तयारी गरेका हुन्। यसबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक मंगलवार बालुवाटारमा बस्दैछ।
देउवा सरकारमा जसपाका चार मन्त्री छन्। संघीय मामिला तथा स्थानीय विकासमन्त्री राजेन्द्र श्रेष्ठ, शहरी विकासमन्त्री मोहमद इस्तियाक राई, वनमन्त्री प्रदीप यादव र कृषिमन्त्री मृगेन्द्र सिंह यादवको जिम्मेवारी खोस्ने तयारी गरिएको हो।
निर्वाचन आचारसंहिताका कारण मन्त्रिमण्डल विस्तार गर्न नमिल्ने र मन्त्रीलाई बर्खास्त गर्न नमिल्ने भएका कारण उनीहरूको जिम्मेवारी खोस्ने तयारी भएको कांग्रेस स्रोतले बतायो।
२०७४ सालमा माओवादीले एमालेसँग चुनावी तालमेलको निर्णय गरेपछि त्यो बेला पनि माओवादीका मन्त्रीहरूलाई जिम्मेवारीबिहीन बनाइएको थियो। मन्त्रीहरूले राजीनामा नगर्दासम्म बखास्त गर्न नमिल्ने भएकोले जिम्मेवारी खोस्न लागिएको स्रोतले बतायो।
‘आचारसंहिताका कारण मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना नरहेकोले विगतमा जस्तै मन्त्रीहरूको जिम्मेवारी खोस्न लागिएको हो’ स्रोतले भन्यो। २०७४ सालमा माओवादी मन्त्रीको जिम्मेवारी खोसिएपछि विनाविभागीय हैसियतमा मन्त्रीहरू झण्डा हल्लाउँदै चुनाव प्रचारमा गएका थिए।
गठबन्धनको बैठकमा मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि गठबन्धनमा भएको सहमतिबेगर गरिएका बागी उम्मेदवारीलाई मान्यता नदिनेबारे निर्णय हुने माओवादीका एक नेताले जानकारी दिए। आइतवार भएको मनोनयनमा कतिपय स्थानमा गठबन्धनबाटै बागी उम्मेदवारी परेको छ।