तोप चरा भन्ने बित्तिकै राम्रो गुँड बनाउने चरा भनेर बुझिन्छ । यी चराहरूले स–साना पात र रेसाहरूलाई जोडेर बलियो र सुन्दर गुँड बनाउँछन् । राम्रो गुँड बनाउने हुनाले यसलाई इन्जिनियर चरा पनि भनिन्छ । यसलाई अंग्रेजीमा टेलर बर्ड भनिन्छ । यी चराहरू समूहमा बस्न मन पराउँछन्। त्यसैले यिनीहरूका गुँडहरू एकै ठाउँमा भेटिन्छन् । यिनीहरू हिउँद याममा काठमाडौंमा आउँछन्। काठमाडौं आएपछि भाले चराको पहिलो काम गुँड बनाउनु हो । हरियो घाँस जम्मा पारेर यी चराहरूले चुच्चोको सहाराले कलात्मक गुँड बनाउँछन् ।
झट्ट हेर्दा यो चराको गुँड मानिसले सिलाएर बनाएको जस्तै आकर्षक देखिन्छ । भालेले गुँड बनाएर नसकेसम्म पोथीले हेरिरहन्छ। गुँड मन परेन भने पोथी गुँडभित्रै पस्दैन । भालेले पुनः पोथीलाई मन पर्ने गुँड बनाउँछ। पोथीलाई खुसी बनाउनको लागि पनि भालेले राम्रो गुँड बनाउने गर्छ। भनिन्छ, कसले राम्रो गुँड बनाउने भनेर भालेहरूमा होडबाजी चल्छ । यिनीहरूले शत्रुको आक्रमणबाट बचाउन गुँड हावामा तुर्लङ्ग झुन्डिने तरिकाले बनाउँछन् । गुँड पनि एउटा हाँगाबाट अर्को हाँगामा सहजै नभेटिने खालको हुन्छ । जमिनबाट नभेटियोस् भनेर कम्तीमा १५ मिटर उचाइमा मात्र चराले गुँड बनाउँछ ।
भालेले गुँड बनाएर सकेपछि गुँडमा बसेर पोथीलाई पनि बोलाउँछ। केही दिनपछि पोथी चराहरू आएर भालेले बनाएको गुँड निरीक्षण गर्छन् । जुन भालेको गुँड राम्रो लाग्छ पोथी तिनै भालेकहाँ जान्छन्। भालेकहाँ गइसकेपछि बाँकी रहेको कामको सहयोग पोथीले पनि गर्ने गर्छन् ।
नेपालमा विशेषगरी मंसिर लागेपछि उच्च पहाडी भागबाट पोथी चराहरूभन्दा केही दिन पहिले भाले चराहरू तराईतिर लाग्छन् । अनि उपयुक्त ठाउँमा गुँड बनाउन रोकिन्छन् । तोप चराको मुख्य आहार धान र गेडागुडी हो ।
यिनीहरूले कहिल्यै पनि किरा फट्याङ्ग्रा खाँदैनन्। यो चराको भालेको टाउको वरिपरि पहेँलो हुन्छ। प्रजननको समयमा भालेहरूको पहेँलो भाग टल्किन्छ। यसले भालेहरू प्रजनन्का लागि तयार भए भन्ने संकेत मिल्छ।