काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा पुँजी लगानी गरी नेपालको विकासमा सहयोग गर्न गैर–आवासीय नेपालीहरूलाई आह्वान गरेका छन्।
मंगलबार गैर–आवासीय नेपाली संघको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो आह्वान गरेका हुन्।
प्रधानमन्त्री देउवाले गैर–आवासीय नेपाली संघलाई सहजरूपमा लगानी गर्नसक्ने र लगानीको प्रतिफल उपभोग गर्नसक्ने वातावरण निर्माण गर्न सरकार प्रतिवद्ध रहेको बताए।
उनले हरेक गैर–आवासीय नेपालीहरूले विदेशमा नेपालको पहिचान जगाउन, विदेशी लगानीकर्ताहरूलाई लगानी गर्न उत्प्रेरित गर्न महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने आवश्यकता रहेको बताए।
प्रधानमन्त्री देउवाले भने, ‘गैर–आवासीय नेपाली संघको सहजरूपमा गर्नसक्ने लगानीको प्रतिफल उपभोग गर्नसक्ने वातावरण निर्माण गर्न सरकार प्रतिवद्ध छ। संसारभर छरिएर रहनुभएका अनेक नेपालीहरू, नेपालका गैर(आवासीय दूतहरू हुन्। तपाईंहरूले विदेशमा नेपालको पहिचान जगाउन, विदेशी लगानीकर्ताहरुलाई लगानी गर्न उत्प्रेरित गर्न, महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने हुन्छ। गैर(आवासीय नेपाली समुदायले विदेशमा नेपालमा उत्पादित वस्तुको उपयोगलाई प्राथमिकता दिन र सकेसम्म यहाँबाट स्वदेशी उत्पादनहरूको विकास र प्रवर्द्धनमा सहयोग पुर्याउन आवश्यक छ। यसबाट नेपालको श्रम, सीप, कच्चा पदार्थमा आधारित साना तथा मझौला उद्योगहरूको संरक्षणमा समेत टेवा पुग्छ।
उनले सरकारले यस आर्थिक वर्षमा नेपालमा विदेशी लगानीको न्युनतमा सीमा ५ करोडबाट २ करोड रुपैयाँसम्म कायम गरेको बताए।
प्रधानमन्त्री देउवाले भने, ‘गैर–आवासीय संघको पहलमा सरकारले यस आर्थिक वर्षमा नेपालमा विदेशी लगानीको न्युनतम सीमा ५ करोडबाट २ करोड रुपैयाँसम्म कायम गरेको छ। धितोपत्रको दोस्रो चरणमा गैर–आवासीय नेपालीहरुलाई खुला गर्न कानुनी व्यवस्था मिलाइने कुरा समेटिएको छ। वैदेशिक रोजगारीमा गएका नेपालीलाई धितोपत्रको प्राथमिक निस्काषनमा १० प्रतिशत सेयर आरक्षित गर्ने व्यवस्था पनि गरिएको छ। यसबाट गैर(आवासीय नेपालीलाई विभिन्न माध्यममा लगानी गर्न उत्प्रेरित गर्नेछ। गैर–आवासीय नेपालीहरूको नेपाल आगमनमा सहजीकरणदेखि लिएर सम्पत्तिको सुरक्षित गर्ने सम्बन्धमा काम सरकारले आवश्यक सहयोग उपलब्ध गराउँदै आएको छ।’
प्रधानमन्त्री देउवाले निकट भविष्यमा नै गैर(नागरिकतासम्बन्धी ऐनलाई सरकारले संशोधन गर्ने प्रतिवद्धतासमेत जनाए।
उनले भने, ‘तपाईंहरूले धेरै उठाउँदै आएको कुरा नागरिकतासम्बन्धी सवाललाई पनि निकट भविष्यमा गैर(नागरिकतासम्बन्धी ऐनमा समेटेर लैजाने छौँ। आफूसँग भएको सीप, पुँजीहरू नेपालको विकासमा लगाउन आह्वान गर्दछु।’
प्रधानमन्त्री देउवाले सरकारले गैर(आवासीय नेपालीहरुको नेपाल आगमनमा सहजीकरणदेखि सम्पत्तिको सुरक्षित गर्ने सम्बन्धमा आवश्यक सहयोग उपलब्ध गराउँदै आएको पनि उल्लेख गरे।