महानगरले डेङ्गी रोग नियन्त्रण गर्न ६४ नगर प्रहरी खटायो - Chaitanya News
  • 2026-05-03
  • 15:52:27
  • आइतबार,बैशाख २०, २०८३
  • महानगरले डेङ्गी रोग नियन्त्रण गर्न ६४ नगर प्रहरी खटायो

    महानगरले डेङ्गी रोग नियन्त्रण गर्न ६४ नगर प्रहरी खटायो

    काठमाडौँ – काठमाडौँ महानगरपालिकाले डेङ्गी रोग नियन्त्रण गर्नका लागि ६४ नगर प्रहरी खटाइएको छ।

    लार्भा नष्ट गर्ने अभियानलाइ तिव्र दिइएको छ। यो संगै महानगरले ३२ वटै वडामा पानी जमेको स्थानमा बायो ‘लार्भिसाइड’ औषधिसमेत छर्कने तयारी गरेको छ।

    कामपा स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले भने, “रोग सार्ने र महामारी फैलाउने सबै प्रजातिका लामखुट्टे पानी जमेको ठाउँमा बस्छन्। उनीहरुको प्रजनन प्रक्रिया त्यहीँ पूरा हुन्छ। पानी जमेको ठाउँमै लामखुट्टेको प्रजनन प्रक्रिया नष्ट गरेर हामीले महामारीलाई नियन्त्रण गर्ने प्रयास गरेको हौँ।

    अहिले नियमित रुपमा पानी परिरहेको छ। आकासे पानी सडक र सडक किनाराका खाल्टाखुल्टी, सार्वजनिक स्थलमा जम्मा भइरहेको छ। लार्भा खोजेर नष्ट गर्दा यस्ता ठाउँलाई प्राथमिकता दिइनेछ पौडेलले भने।

    “लार्भिसाइड औषधि जैविक हो। यसले लामखुट्टे र त्यसका लार्भाबाहेक अन्य कुनै पनि जीवलाई हानि गर्दैन। यो विषादी होइन। उक्त औषधिलाई पानीको माथिलो भागमा छर्कनु पर्दछ। यसले लार्भाको पेटमा विष उत्पन्न गर्छ। यसबाट उसको पाचन प्रक्रिया नष्ट हुन्छ। यसबाट पूर्ण विकसित हुन नपाउँदै लार्भा मरेर नष्ट हुन्छ”, प्रमुख पौडेलले भने।

    औषधिले डेङ्गीसहित, औलो ९मलेरिया०, चिकन्नियाजस्ता रोग फैलाउने सबै प्रजातिका लामखुट्टेका लार्भा र प्युपा नष्ट हुनेछ। १० लिटर पानीमा दुई सय ५० मिलिलिटर औषधि यसको मात्रा हो।

    यस रोगबारे परामर्श दिन निःशुल्क हटलाइन टेलिफोन ११८० जुनसुकै समय सञ्चालनमा छ। अस्पताल जानु परे १०२ नम्बर सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न सकिने व्यवस्था छ। उक्त एम्बुलेन्स फोन गरेको १५ मिनेटमा उपलब्ध हुने कामपाको भनाइ छ।

    प्रत्येक वडामा रहेको स्वास्थ्य प्रवद्र्धन केन्द्रमार्फत यस रोगका लागि चाहिने सिटामोल, जीवनजललगायत औषधिको व्यवस्था मिलाइएको छ।