वर्षाले दसैँ मनाएर फर्किने सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका यात्रु समस्यामा - Chaitanya News
  • 2026-04-24
  • 20:24:48
  • शुक्रबार,बैशाख ११, २०८३
  • वर्षाले दसैँ मनाएर फर्किने सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका यात्रु समस्यामा

    वर्षाले दसैँ मनाएर फर्किने सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका यात्रु समस्यामा

    बैतडी– लगातारको वर्षाले दसैँ मनाएर फर्किने सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका यात्रु समस्यामा परेका छन्। सुदूरपश्चिममा दसैँको दिनदेखि वर्षा भइरहेको छ। वर्षाले यहाँका विभिन्न जिल्लाका राजमार्ग बन्द, हिलाम्मे र खाल्डाखुल्डीले गर्दा यात्रु जोखिमपूर्ण यात्रा गरिरहेका हुन्।

    पाँच दिनदेखिको अविरल वर्षाले यहाँका दशरथचन्द राजमार्ग, महाकाली राजमार्ग, जयपृथ्वी राजमार्ग, भीमदत्त राजमार्ग, केआइसिंह राजमार्ग बेला–बेलामा अवरुद्ध भइरहेका छन्। राजमार्ग अवरुद्ध हुँदा दसैँ मनाएर फर्किने यात्रु घण्टौँसम्म बाटोमै बस्नुका साथै जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। कर्मचारी, विद्यार्थीलाई कार्यालय र विद्यालय सञ्चालन भइसकेकाले दसैँको टीका लगाएर फर्किरहेका हुन्।

    बैतडीबाट आठ घण्टामा महेन्द्रनगर पुगिने भए पनि पहिराले ठाउँ–ठाउँमा सडक अवरुद्ध हुँदा १३ घण्टामा पुगिएको गोकर्ण विष्टले बताए। लगातारको वर्षाले कतिबेला पहिरो जाने हो भनेर चिन्तामा यात्रा गर्नुपरिरहेको हो। निरन्तरको वर्षाले ग्रामीण सडक पनि अवरुद्ध हुँदा दसैँ मनाएर फर्किनेसमेत समस्यामा परेका छन्। राजमार्ग क्षेत्रमा पहिराको जोखिम र ग्रामीण सडक हिलाम्मे हुँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन्।

    यस्तै, लगातारको वर्षाका कारण यात्रामा जोखिम हुने भन्दै धेरैजसो गाउँबाटै फर्किन पाएका छैनन् । बाटोमा सडक अवरुद्ध हुने समस्या र जोखिमपूर्ण यात्रा हुने भएकाले काठमाडौं जानबाट रोकिएको दोगडाकेदार–३ श्रीकोटका लोकेन्द्र नाथले बताए। बाटोमा गएर जोखिममा पर्नुभन्दा बरू एक–दुई दिन ढिला जाने तयारी गरेको भए पनि वर्षा नरोकिँदा यात्रा नै अनिश्चित बनेको उनको भनाइ छ।