भगवान्ले नेपाललाई केही खुल्ला रुपमा दिए भने त्यो प्रकृति हो । हामीले त्यही प्रकृतिलाई प्रयोग गरेर वार्षिक रुपमा करोडौँ पर्यटकलाई नेपालतिर तान्न सकिने सम्भावना छ । तर व्यवस्थापन आफैँ चुकेको समयमा हामी यति लाख पर्यटक भित्रिएको कुरामा खुसी हुनुपर्ने अवस्था सामान्य नै भइसकेको छ ।
खैर, पर्यटनको विभिन्न आयाम छन् । ती कुरा तपशीलका कुरा भए । आज हामी नेपालको धार्मिक पर्यटनबारेमा चर्चा गरौँ । धार्मिक पर्यटनको सम्भावना कति छ नेपालमा ? हामी आफैँ मनन् गरौँ । हाम्रा मठ मन्दिर सम्झेर, चैत्य गुम्बा सम्झेर, मस्जिद सम्झेर मनन् गरौँ । हामीलाई मनन् गर्न छुट छ । त्यसमाथि बुद्ध सम्झेर अझै मनन् गर्न छुट छ । किनकि बुद्धलाई त हामीले आजसम्म संसारमा मुखैले बेचेर खाइरहेको कुरा सत्य हो । यसकारण बुद्धलाई सम्झन हामीलाई अझ छुट । माता सीतालाई नसम्झने भन्ने फेरि कुरा नै रहेन । बुद्धको देश, माता सीताको देश भनेर हामीले भनिरहेका छौँ ।
त्यसैकारण धार्मिक पर्यटन तथा तीर्थयात्रा संसारकै पुरानो पर्यटन मानिएको छ । युनेस्कोका अनुसार संसारका ६० प्रतिशत मानिस कुनै न कुनै धर्मको अभ्यास गर्छन् र उनीहरू नै धार्मिक पर्यटनका मुख्य आधार पनि हुन् । धार्मिक पर्यटन एसिया अनि दक्षिण एसियाली देशहरूमा झनै महत्वपूर्ण छ । यसर्थमा कि यहाँ प्रशस्त मात्रामा धार्मिक तथा आध्यात्मिक पर्यटकका लागि इतिहास बोकेका धरोहर छन् । भारत वर्ष अनि नेपाल त संसारको प्राचीनतम् सनातन धर्म र यसको अभ्यासका लागि विश्वमै प्रख्यात रहिआएको छ ।
धार्मिक र आध्यात्मिक पर्यटन कतिपय सन्दर्भमा उस्तै÷उस्तै लागे पनि केही खास भेद छन् । आध्यात्मिकता धार्मिकताको परिस्कृत रूप हो । विश्व पर्यटन संगठनका अनुसार धार्मिक पर्यटन मूलतः सांस्कृतिक र छुट्टी मनाउने उद्देश्यले प्रेरित हुन्छ भने आध्यात्मिक पर्यटन बहुआयामिक हुन्छ, यो आंशिक या पूर्णरूपले धार्मिक विश्वास र उद्देश्यले आयोजित हुन्छ । यसर्थ धार्मिक पर्यटनलाई एक प्रकारको आध्यात्मिक पर्यटन मान्न सकिन्छ तर आध्यात्मिक पर्यटनलाई पूर्ण धार्मिक पर्यटनको उपमा दिनु आवश्यक छैन ।
नेपालभर हजारौं मठ, मन्दिर, गुम्बा, चैत्यहरू छन् । जसले सजिलै लाखौं छिमेकी भारत र चिनियाँ धर्मावलम्बहरूलाई आकर्षित गर्न सकिन्छ । नेपाल आउने प्रायः सबै पर्यटक कुनै न कुनै रूपमा नेपालको धार्मिक र आध्यात्मिक विषयहरूबाट प्रभावित भएकै हुन्छन् । नेपालमा भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी, आराध्यदेव भगवान् पशुपतिनाथ, मुक्तिनाथ, माता सीताको जन्मस्थल जनकपुरधाम, हलेसी महादेव मन्दिर, मनकामना मन्दिर, दामोदरकुण्ड, गोसाइँकुण्ड, देवघाट, रिडी क्षेत्र, वराह क्षेत्र, स्वयम्भू, बौद्धनाथजस्ता अति धार्मिक महत्वले भरिएका सयौं यस्ता धार्मिक पर्यटकीय गन्तव्यहरू छन् । छिमेकी देश भारतको १ अर्ब जनसंख्या हिन्दूमार्गी रहेको छ । त्यसैगरी उत्तरी छिमेकी देश चीनमा पनि मानिसहरू बुद्ध धर्मप्रति विश्वास गर्ने धेरै छन् । यसरी हेर्दा यो जनसंख्याको १० प्रतिशत मात्र पनि नेपाल भित्र्याउन सकेमा देशको पर्यटनले पछि फर्केर हेर्नुपर्ने छैन ।
विश्व हिन्दु महासंघका सल्लाहकार नारायणप्रसाद अधिकारी धार्मिक पर्यटन मात्र नभई विभिन्न ४ धर्मको प्रारम्भ नै नेपालमा भएको दाबी गर्छन् । नेपालमा ३–४ हजार वर्षअघिदेखि तीर्थाटनका रूपमा धार्मिक पर्यटक आउन सुरु भएको उनको भनाइ छ । चीनबाट धार्मिक पर्यटककै रूपमा मञ्जुश्री नेपाल आएको उनी बताउँछन् । ‘भारतमा परापूर्वकालमा ठूल्ठूला राजाघरानाका मान्छे शान्ति र आध्यात्मिक प्रगतिका लागि यो भूमिमा आउँथे,’ उनले भने, ‘यो भूमि परापूर्वकालदेखि बुद्ध भूमि हो । धर्मको प्रारम्भ पनि नेपालभूमिबाट भएको हो भन्ने सहजै भन्न सक्छौं ।’
नेपालमा रहेका धार्मिक मठ, मन्दिर, तीर्थस्थलका बारेमा विश्वमा नै प्रचारप्रसार गर्नुपर्छ । यसका लागि पर्यटन बोर्ड, नेपाल सरकारजस्ता निकायले ध्यान दिनु आवश्यक छ । विदेशी पर्यटक देशको संस्कृति र विभिन्न कलाले सुसज्जित मन्दिर हेर्न आउने गरेका छन् । नेपाल मौलिक सांस्कृतिक आयाम स्थल हो । विश्वमा डेढ अर्ब बौद्धमार्गी छन् । लुिम्बनीको विकास भयो भने पर्यटक बढ्छन् । त्यसैले नेपालको पर्यटनको सम्भावना धार्मिक स्थल र मठमन्दिर हुन् भन्ने विषय सबैले मनन गर्न जरुरी छ । विश्वको एकमात्र हिन्दूराष्ट्र नेपाल हो भनेर चिनिन र चिनाउनका लागि धार्मिक स्थललाई बचाउन जरुरी छ । जातजाति, भाषाभाषी, कला, धर्म, संस्कार, संस्कृतिको संरक्षण, सुरक्षण र संवर्द्धन गर्न सके वैदेशिक हस्तक्षेपसमेत रोकिन्छ ।