खुसी जीवन प्राप्तिसँग जोडिएको गौरा महिमा - Chaitanya News
  • 2026-11-19
  • 03:58:51
  • बुधबार,मंसिर ०३, २०८३
  • खुसी जीवन प्राप्तिसँग जोडिएको गौरा महिमा

    खुसी जीवन प्राप्तिसँग जोडिएको गौरा महिमा

    काठमाडौं- गौरा पर्व सुदूरपश्चिमको पहाडि समुदायमा मनाइने महान पर्व हो। यो शिव र पार्वतीको महिमासँग जोडिएको पर्व हो।

    सुदूरपश्चिम प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा. टीएन जोशी सुदूरपश्चिममा दसैं, तिहार जस्तै गौरा पर्वलाई पनि व्रत बसेर महिलाहरूले श्रीमान‍्को दीर्घायुको कामना गर्दै मनाउँछन्। यसरी गौरा पर्वमा ब्रत बस्दा सुखी जीवन प्राप्त हुने जनविश्वास रहि आएको छ।

    ‘गौरा सुदूरपश्चिमेलीहरूको धार्मिक र सांस्कृतिक पर्व हो। गौरा भाद्र शुक्ल पञ्चमीबाट अष्टमीसम्म थुप्रै कार्यक्रम गरेर मनाइन्छ। गौरा पर्वको पहिलो दिन महिलाहरू ब्रत बस्छन्। घरमा तामा अथवा पित्तलको भाडोमा ‘बिरुडा’ पाँच प्रकारका अन्न भिजाउने गरिन्छ। यसरी भिजाएको बिरुडा पुजामा प्रसादका रूपमा चाढाइन्छ,’ जोशी भन्छन्।

    महिलाहरूले धान, साउँ, तिल, अपामार्गको बोटको गौराको प्रतिमा बनाएर धार्मिक विधि अनुसार गौरा घर भित्र्याउने गरिएको गौरामै विद्यावारिधी गरेका डा. जोशीले बताए। गौरा भित्र्याइ सकेपछि विसर्जन नगरुन्जेलसम्म गौरा घरमा पहिला पुरुषहरू छुट्टाछुट्टै घेरामा देउडा, चैत र धमारी जस्ता खेल खेल्छन्। यसरी गौरा मनाउँदा आपसी सम्बन्ध थप मजबुद हुने धार्मिक विश्वाससमेत रहेको छ।

    ‘गौरा-महेश्वरको व्रत बस्नाले मनोकामना पूरा हुन्छ। अपुतलाई पुत, पुत्र, सुखी जीवन प्राप्त हुने हाम्रो परम्परागत विश्वास छ,’ संस्कृत विद् डा. बन्द्रीशर्मा बिनाडी बताउँछन्। तीन दिनसम्म ब्रत बस्ने परम्परा रहिआएको उनले बताए।

    सप्तमीका दिन महिलाहरु खेतमा गएर धान, बलु, कुस, दुबो, साउँ, पाती, कुर्जो, तिल र अपामार्ग गरी नौ प्रकारका विरुवाहरुलाई गौराको रुपमा भित्र्याउने चलन छ।

    गौरा पर्वलाई महिलाहरूले माङ्गलिक कामना गर्दै मनाउने गरेका छन्। यो पर्वको धार्मिक र सामाजिक महत्व रहेकाले धुमधामसँग मनाउने गरेको व्रतालु महिलाहरुको भनाइ छ। गौरा पर्वले लामो समयदेखि बिछोड भएकाबीच मिलन गराउने, आपसी भाइचाराको सम्बन्ध बढाउने, पति पत्नीबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने गरेको विनाडीले बताए।

    गौरा मनाउनका लागि लागि देश विदेश गएकाहरू पनि गाउँघर आउने गरेको विनाडीको अनुभव छ। पञ्चमीदेखि सुरु भएको गौरा पर्व अष्टमीको दिन झनै विशेष रुपमा मनाउने गरिन्छ। अष्टमीको दिनलाई नै मुख्य हो। यसै दिनलाई नेपालमा गौरा पर्वको रुपमा लिने गरिन्छ।

    गौरा पर्वलाई पञ्चमीदेखि अष्टमीसम्म चार दिन मनाउने गरिएको छ। गौरा पर्व विशेष गरेर महिलाले मनाउने पर्व हो। गौरा पर्वमा गौरा-महादेवको पूजा गर्नाले मनोकामना पूरा हुनुका साथै जीवनमा आनन्द प्राप्त हुने गरेको विनाडीले बताए।

    पञ्चमीदेखि सुरु हुने गौरा पर्वको पहिलो दिन दलहन वस्तुको बिरुडा (चना, गहत, गुराँस, सानो केराउ, ठूलो केराउ) भिजाउने चलन छ। बिरुडालाई पञ्चाखिरी शिवमन्त्रको प्रतीक मानिने गरिन्छ। बिरुडा भिजाएर सुरु हुने पर्वको दोस्रो अर्थात षष्ठीका दिन गेंडागुडीलाई नजिकैको नदी, पोखरी वा धारामा धुने गरिन्छ।

    सप्तमीका दिन महिलाहरु खेतमा गएर धान, बलु, कुस, दुबो, साउँ, पाती, कुर्जो, तिल र अपामार्ग गरी नौ प्रकारका विरुवाहरुलाई गौराको रुपमा भित्र्याउने चलन छ। आयुर्वेदको दृष्टिकोणले महत्वपूर्ण यी विरुवालाई नवदूर्गाको प्रतिकको रुपमा लिने गरेको पाइन्छ।

    व्रतालु महिलाले डालोमा राखेर फाग गीत/गाउँदै गौरालाई नचाउने चलन छ। उनीहरूले सप्तमीका दिन गौरालाई गौरा घरमा भित्र्याइ पूजापाठ गर्ने गर्दछन्। विधि विधानअनुसार अष्टमीका दिन गौरा सेलाएर देउडा खेल्ने चलन छ। ‘गौरा चारदिनसम्म मनाइए पनि रमाउनका लागि केहि दिन लम्ब्याएर पनि देउडा खेल्ने गरिन्छ’, गायक सुरत रावत ‘डोटेली कान्छ’ भन्छन्।।

    गौरालाई महिलाहरूले गौरा-महादेवको विवाहोत्सवको रुपमा पनि मान्ने गरेको डा. टीएन जोशीको धारणा छ। उनले गौरा सेलाएको अष्टमीको दिनदेखि समुदायमा देउडा खेल्ने चलन रहेकाले यो पर्वको सामाजिक महत्व पनि उत्तिकै रहेको बताए।