पानीबिनाको जीवनको कल्पना गर्न पनि सकिदैन । तर पानी कुन समयमा र कति मात्रामा पिउने भन्ने बारे सबैलाई पिरोलिरहेको हुन्छ । कतिपय मानिस प्यास मेटाउन मात्र पानी पिउने गर्छन् । कोही बिहान प्रशस्त मात्रामा पिउछन् भने कोही रातिको समयमा पनि पानी पिएर सुत्ने गर्छन् ।
पानीसम्बन्धी गरिएका विभिन्न अनुसन्धानका रिपोर्टका अनुसार प्यास लागेर मात्र पानी पिउनु स्वास्थ्यलाई फाइदा हुँदैन । बिहान र साँझको समयमा पानी पिउँदा स्वास्थ्यलाई निकै फाइदा हुने विज्ञहरूले बताएका छन् ।
अनुहारको छालासम्बन्धी समस्या भएकाहरूले भने बिहानको साथसाथै राति सुत्नुअघि एक गिलास मनतातो पानी पिउँदा फाइदा हुन्छ । राति सुत्नुअघि एक गिलास मन तातो पानी पिउँदा छालाको समस्या हटेर जानुका साथै छालासम्बन्धी रोग लाग्नबाट बच्न सकिन्छ ।
बाथरुम जानुपर्ने झन्झटले प्रायजसो मानिस राति सुत्नुअघि पानी पिउँदैनन् । यसो गर्नु स्वास्थ्यका लागि फाइदाभन्दा बेफाइदा बढी हुन्छ । सुत्नु अघि नियमित पानी पिउँदा राम्रोसँग निद्रा लाग्नुका साथै छालासम्बन्धी रोग लाग्दैन ।
दिनमा कति पिउने ?
स्वस्थ व्यक्तिले दिनमा दुई वा तीन लिटर पानी पिउनुपर्छ। एकजना वयस्क व्यक्तिले शरीरबाट दिनमा लगभग साँढे दुई लिटर पानी गुमाउँछ । पसिना, श्वास र दिशापिसाबको माध्यमबाट पानी खेर जानेगर्छ ।
पानीको आवश्यकता व्यक्तिपिच्छे फरक हुन्छ । त्यसै पानीको मात्रा जीवनशैलीमा पनि भर पर्छ । धेरै शारीरिक श्रम नपर्ने, कुर्सीमा बसेर काम गर्ने र एसी भएको ठाउँमा काम गर्नेलाई दैनिक दुईदेखि २.५ लिटर पानी भए पुग्छ । शारीरिक श्रम पर्ने काम गर्ने सेल्सपर्सनजस्ता पेसामा भएकालाई भने तीन लिटरजति पानी जरुरत पर्छ ।
समयअनुसार शरीरमा पानीको आवश्यकता पर्छ।गर्मी महिनामा बढी र नियमित पानी खाइरहनुपर्छ। बिहान उठ्नेबित्तिकै सकेसम्म धेरै पानी पिउन राम्रो मानिन्छ । शारीरिक व्यायाम गर्ने, गर्मी मौसममा काम गर्ने र स्तनपान गराइरहेका आमाले धेरै पानी पिउनुपर्छ । स्तनपान गराइरहेका आमाले आफू र बच्चालाई स्वस्थ राख्न पनि प्रशस्त पानी पिउनुपर्छ ।
शरीरलाई चाहिनेभन्दा बढी पानी पिउँदा मिर्गौला सुन्निने र शरीरलाई चाहिने खनिजहरूको घनत्व घटेर शरीरलाई नकारात्मक असर पर्न सक्छ। त्यसैले ठीक समयमा सही मात्रामा पानी पिउनु आवश्यक छ ।
पानी पिउँदाका ५ फाइदा
डिप्रेसनबाट छुटकरा : विभिन्न अनुसन्धान रिपोर्टअनुसार शरीरमा पानीको कमीले डिप्रेसन हुने सम्भावना बढी रहन्छ।यसो हुँदा निद्रा गडबड भइ व्यक्तिमा नराम्रो असर पर्छ । त्यसैले राति सुत्नुअघि एक गिलसा मन तातो पानी पिउँदा शरीरमा पानीको मात्रा ठीक हुन्छ ।
विकार तत्वहरु बाहिर निकाल्छ : नियमित मनतातो पानी पिउँदा शरीरको तापक्रम बढ्छ । जसले गर्दा शरीरबाट प्रशस्त मात्रामा पसिना निस्कन्छ । पसिना निस्किदा रगतको सन्तुलत ठीक रहनुका साथै शरीरमा भएका विकार तत्वहरू बाहिर निस्कन्छन् । यसैले रातिको समयमा मन तातो पानी पिउनु जरुरी छ ।
पाचनको काम गर्छ : मनतातो पानीले खाना पचाउनमा ठूलो सहयोग गर्छ । रातको समयमा दिनको भन्दा शरीरको पाचन शक्ति कमजोर हुन्छ । त्यसैले रातको समयमा गरम पानी पिउँदा पाचकको काम गर्छ ।
तौल घट्छ : नियमित तातो पानी पिउँदा अनावश्यक तौल बढ्दैन । तौल घटाउन अधिकांश व्यक्ति बिहान तातो पानी पिउने गर्छन् । तर छिटो तौल घटाउनु छ भने दिनमा दुई पटक तातो पानी पिउनुहोस् ।
चाउरी पर्दैन : कतिपयको अनुहारको छालामा उमेर नपुग्दै चाउरी देखिन थाल्छ । चाउरी आउन नदिन प्रशस्त मात्रामा पानीको साथसाथै झोलिलो कुरा पिउनुपर्छ । बिहान र राति सुत्नुअघि तातो पानी पिउँदा पेट सफा हुनुका साथै चाउरीबाट छुटकरा पाउन सकिन्छ ।