नवौं महिला राष्ट्रिय खेलकुद क्रिकेटको डेब्यु खेलमा पुलिसको सहज जित - Chaitanya News
  • 2026-04-24
  • 20:08:51
  • शुक्रबार,बैशाख ११, २०८३
  • नवौं महिला राष्ट्रिय खेलकुद क्रिकेटको डेब्यु खेलमा पुलिसको सहज जित

    नवौं महिला राष्ट्रिय खेलकुद क्रिकेटको डेब्यु खेलमा पुलिसको सहज जित

    पोखरा– नवौं राष्ट्रिय खेलकुदमार्फत राष्ट्रिय क्रिकेट प्रतियोगितामा डेब्यु गरेको नेपाल पुलिस क्लबको महिला टिमले विजयी सुरुवात गरेको छ।

    महिला क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार पोखरा रंगशालमा क्रिकेट मैदानमा भएको खेलमा राष्ट्रिय टिमकी कप्तान रुविना क्षेत्रीको नेतृत्वमा रहेको पुलिसले कर्णाली प्रदेशलाई डीएल मेथडमा ६३ रनले पराजित गरेको हो।

    नवौं राष्ट्रियकै लागि पुलिसले राष्ट्रियस्तरको खेलाडीहरु समावेश गर्दै टिम निर्माण गरेको हो। वर्षाका कारण खेल १६ ओभरमा घटाइएको खेलमा पुलिसले पहिले ब्याटिङ गर्दै ११० रन बनाएको थियो।

    तर कर्णालीले १०।२ ओभरमा ७ विकेट गुमाएर १७ रन मात्र बनाउँदा पानी परेपछि खेल स्थगित भयो र फेरि सुरु हुन सकेन। कर्णालीले १०.२ ओभरमा डिएल मेथड अनुसार जितका लागि ८१ रन बनाउनुपर्ने थियो।

    कर्णालीका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्। कर्णालीका लागि दिक्षा पुरिले अविजित रहँदै ७ रन बनाइन्।

    कर्णालीलाई अलआउट गर्न पुलिसका बलरहरुले घातक बलिङ गरे। सबनम राई, संगिता राई, हिरन्माया रोय, ईश्वरी बिष्ट तथा कविता जोशीले १–१ विकेट लिए। कविता जोशीले ३ ओभर बलिङ गर्दा ३ मेडन नै राख्दै कुनै रन दिइनन्।

    त्यसअघि पहिले ब्याटिङ गरेको पुलिसले १६ ओभरमा ६ विकेट गुमाएर १ सय १० रन बनाएको थियो। पुलिसका लागि सम्झना खड्काले सर्वाधिक २५ रन बनाइन्।

    कविता कुँवर र काजल श्रेष्ठले १६–१६ तथा रेवती धामीले १४ रन बनाइन्। कर्णालीका अन्जु गुरुङले ३ तथा अन्जली क्षेत्री र बिना थापाले समान १ विकेट लिए।