काठमाडौं– विश्वकप फुटबलमा इंग्ल्याण्डलाई १–० ले हराउँदै स्पेनले पहिलो पल्ट महिला विश्वकप फुटबलको उपाधि जितेको छ।
पहिलो हाफदेखि नै इंल्यान्डमाथि दबाब कायम गरेको स्पेनले खेलको २९ औं मिनेटमा गरेको गोल नै निर्णायक भयो। स्पेनको लागि कप्तान ओल्गा कारमोना गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन्।
खेलको १६ औं मिनेटमा इंग्ल्यान्डले प्रहार गरेको बल पोष्ट बार माथि लागेर फर्किएको हो। १७ औं मिनेटमा स्पेनको प्रहार इङ्लन्डकी गोलकिपर म्यारी इराप्सले बचाइन्।
स्पेनले खेलको ६९ औं मिनेटमा पाएको पेनाल्टी इंग्ल्यान्डकी गोलकिपर इराप्सले बचाएकी थिइन्। तर पनि उनले टिमलाई उपाधि जिताउन सकिनन्।
यो हारसँगै गत वर्ष इंग्ल्याण्ड लगातार युरो कप र विश्वकप जित्ने टिमको कीर्तिमान बनाउनबाट चुकेको छ।
स्पेन महिला विश्वकप फुटबल जित्ने पाँचौ टिम बनेको छ। यसअघि अमेरिकाले ४ पटक, जर्मनीले २ पटक तथा नर्वे र जापानले १–१ पटक विश्वकप जितेका छन्।