काठमाडौं– कानुन, न्याय तथा संसदीय मन्त्री धनराज गुरुङले उपचार खर्च नलिने घोषणा गरेका छन्। आज (शुक्रबार) नेपाल निजामति कर्मचारी युनियनको राष्ट्रिय भेला तथा विधान अधिवेशनमा बोल्दै उनले यस्तो घोषणा गरेका हुन्।
गुरुङ साउन २५ मा उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए।
ब्लड प्रेसरमा कमि आएपछि उनी उपचारका लागि भर्ना भएका थिए। तिन दिनको उपचारपछि उनी डिस्चार्ज भएका थिए।
उपचार गरि फर्केपछि सरकारी अधिकारी उपचार खर्च लिन सुझाव दिएपनि सरकारी खर्च नलिने प्रतिवद्धता उनले गरे।
उपचारपछि सरकारी कर्मचारीले आफूलाई दिएको सल्लाहबारे गुरुङले भने,‘उपचारमा त ठूलै खर्च भयो होला। तपाई आफैँ मन्त्री हुनुहुन्छ। मन्त्रिपरिषद्बाट खर्च लिँदा भइहाल्छ नि भन्ने सुझावहरू आए।
जबसम्म गरिबभन्दा गरिब नेपालीहरूलाई निःशुल्क उपचार गर्न सक्दैन तबसम्म राज्यकोषबाट एक रुपैयाँ पनि उपचार खर्च नलिने प्रतिबद्धता उनले सुनाए।