काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू गोरखा पस्तै गर्दा विजय र्यालीमा आएको जस्तो लागेको बताएका छन्।
आइतबार गोरखा–२ बाट प्रतिनिधि सभा सदस्यका लागि मनोनयन पत्र दर्ता गराएपछि आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले जनतामा उत्साह र ऊर्जा देखेको बताए।
‘यहाँ पस्तै गर्दा जनता र कार्यकर्ता जुन उत्साह र ऊर्जा मैले देखेँ। म निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न आएको जस्तो लागेन, मलाई जितिसकेको विजय र्यालीमा आएको जस्तो लाग्यो। मलाई बडो अनौठो अनुभूति भयो। त्यस्तो उत्साह र ऊर्जा मैले देखेँ’, प्रचण्डले भने।
सम्बोधनका क्रममा प्रचण्डले चितवनबासीप्रति आभार व्यक्त गरे। ‘त्यहाँका नेता तथा राजनीतिक कार्यकर्ता र आम जनताप्रति आभार व्यक्त गर्न चाहन्छु। मैले उहाँहरुलाई बिर्सेर वा कुनै किसिमले मिनिमाइज गर्न यहाँ आएको होइन। म यहाँ आए पनि चितवन र देशभरका जनतासँग छु’, उनले भने।
प्रचण्डले गोरखाका सहिद तथा बेपत्ता योद्धाका परिवारहरुले आफूलाई गोरखा आउनुपर्यो भनेको बताए। ‘इतिहासको त्यो आवश्यकतालाई सम्झेर यहाँ आएको छु। पार्टीका साथीहरुको, राजनीतिक दलहरुको, गठबन्धन र बाहिरका दलहरुका नेता तथा कार्यकर्ताहरु भित्रबाट खुसी भएको सन्देश मलाई दिने गर्नुभएको छ’, उनले भने।