१ क्विन्टल भनिएको सुन गालेर जोख्दा ६० केजी मात्रै - Chaitanya News
  • 2026-11-18
  • 23:37:46
  • बुधबार,मंसिर ०३, २०८३
  • १ क्विन्टल भनिएको सुन गालेर जोख्दा ६० केजी मात्रै

    १ क्विन्टल भनिएको सुन गालेर जोख्दा ६० केजी मात्रै

    काठमाडौँ– तस्करी गरेर ल्याइएको सुन मोटरसाइकलको ‘ब्रेक सु’ मा छुट्याएर गालिएको सुन तौल गर्दा ६० केजी ७१६ ग्राम मात्रै भएको छ।

    नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन जोखिएको थियो। आज बिहान साढे १० बजेबाट सुन गालिएको थियो। छुट्याइएको सुन गालिएपछिको यकिन परिमाण निकाल्नको लागि जोखिएको टक्सार महाशाखाले जानकारी दिएको छ।

    गाल्नुअघि यो सुन ६० किलो ७८९ ग्राम थियो। गाल्दा खेरि सुन ७३ ग्राम घटेको छ।

    राजस्व अनुसन्धान विभागले तीन साउनमा सिनामंगलबाट सुन सहितको १५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो। मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर सुन ल्याएको पाइएको थियो। त्यसबेला ब्रेक शु सहितको तौल लिइएको थियो।

    सीआईबी, राजस्व, नेपाल राष्ट्र बैंक र टक्सार कार्यालयका प्रतिनिधिको रोहबरमा सुन गालेर जोखिएको हो। सुन प्रकरणको अनुसन्धान १९ दिनसम्म गरेर राजस्व अनुसन्धान विभागले थप छानबिनको जिम्मा सीआईबीलाई लगाएको थियो।

    सीआईबीले संगठित अपराध र राजस्व छलीको कसुरमा यो प्रकरणको अनुसन्धान गरिरहेको छ।