मकवानपुर — राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापालाई समर्थन गरेको भन्दै नेकपा एमालेका रुष्ट कार्यकर्ताले जिल्लास्थित पार्टी कार्यालयमा तालाबन्दी गरेका छन्। थापालाई समर्थन गरेको विरोधमा पार्टीको जिल्लास्थित नेतृत्व मौन बसेको भन्दै रुष्ट भएका कार्यकर्ताले हेटौंडा–५ स्थित सानोपोखरामा रहेको कार्यालयमा तालाबन्दी गरेका हुन्।
उनीहरूले थापालाई सहयोग गरेर केन्द्रियता हावी भएको र पार्टी कार्यकर्तामाथि अन्याय भएको आरोप नेतृत्वमाथि लगाएका छन्।
थापाले मकवानपुर क्षेत्र नम्बर– १ बाट एमालेको चुनाव चिह्नबाट उम्मेदवार उठ्दै छन्। थापा यसअघिको निर्वाचनमा यसै क्षेत्रबाट एमालेका कृष्ण दाहालसँग पराजित भएका थिए। मकवानपुरे राजनीतिमा थापा र एमालेबीच लामो समयदेखि प्रतिस्पर्धा हुँदै आएको छ। जसका कारणले गर्दा एमालेका जिल्लास्थित पदाधिकारी तथा कार्यकर्ता थापालाई खुलेर सहयोग गर्ने पक्षमा देखिएका छैनन्।