काठमाडौं– नेता घनश्याम भुसालले सत्तारुढ गठबन्धनको समर्थनमा रुपन्देही क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्। आइतबार बिहान निजी निवासमा पत्रकार सम्मेलन गरी नेता भुसालले वामपन्थी एकताको पहल गर्ने उद्देश्यका साथ प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवारी दिन लागेको बताए।
नेता भुसालले आफूलाई सत्तारुढ गठबन्धनका दलहरूले समर्थन गर्ने प्रतिबद्धता जनाएको पनि बताए। उनले आफूलाई नेकपा (माओवादी केन्द्र) ले आफ्नो चुनाव चिन्हबाट उम्मेदवारी दिन आग्रह गरेको भए पनि आफूले स्वतन्त्र बाट नै उम्मेदवारी दिन चाहेको बताए। नेता भुसालले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गठबन्धनको तर्फबाट कुनै उम्मेदवारी नदिई आफूलाई सघाउने प्रतिबद्धता जनाएको बताए। आफू राजनीतिमा सक्रिय व्यक्ति भएकाले संसदबाटै राजनीतिमा प्रभावकारी भूमिका खेल्ने उनको भनाई छ।
‘मलाई हिजो माओवादीका साथीहरूले विनम्रता पूर्व आफ्नो पार्टीको चुनाव चिन्ह लिएर स्वतन्त्रमा उम्मेदवारी दिन आग्रह गर्नुभएको थियो। आफ्नो निर्वाचन चिन्ह लिएर चुनाव लड्न कमरेड प्रचण्डले पनि आग्रह गर्नुभयो। तर मैले स्वतन्त्र भएरै चुनाव लड्न चाहेको बताए। यसका लागि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं अन्य नेताहरूलाई धेरै धेरै धन्यवाद छ,’ उनले भने, ‘मध्य राती १२ बजे प्रचण्डले गठबन्धनमा प्रधानमन्त्रीसँग सोध्नुपर्छ भन्नुभयो। राति नै मलाई फोन गरेर हामी गठबन्धनबाट त्यस क्षेत्रमा उम्मेदवारी दिँदैनौँ। तपाईँलाई सहयोग गर्छौँ भन्नुभएको छ।’