धनुषा — जनता समाजवादी पार्टी(जसपा) का नेता लक्ष्मी महतो एमाले प्रवेश गरेर महोत्तरी–१ बाट उम्मेदवारी दर्ता गराउने भएका छन्। जसपाबाट उम्मेदवार बन्न अन्तिम समय सम्म तयारी गरेका महतो एमाले प्रवेश गरेका हुन्।
पाँच दलीय गठबन्धबाट माओवादी केन्द्रका उम्मेदवारविरुद्ध एमाले–जसपाको गठबन्धनबाट एमालेको चुनाव चिन्हबाट महतोलाई उम्मेदवार बनाइएको हो।
एमाले र जसपा गठबन्धनमा महोतरी–१ एमालेको भागमा परेपछि महतो जसपा छोडेर एमालेमा आएका हुन। जसपाबाट टिकट नपाएपछि महतो स्वतन्त्र उम्मेदवारी दर्ता गराउने तयारी गरेका थिए। शनिबार बिहान एमालेका सचिव रघुवीर महासेठसँगको भेटघाटपछि महतो एमालेको टिकट लिएर उम्मेदवारी दर्ता गराउन महोत्तरी पुगेका छन्। रातभरीको छलफलपछि महतो एमालेको उम्मेदवार भएको एमालेका एक नेताले बताए।
यस अघि ०७४ को निर्वाचनमा जसपाबाटै महतो प्रतिनिधि सभाका उम्मेदवार थिए। उनी पराजित भएका थिए। गत चुनावमा माओवादी केन्द्रका उम्मेदवार गिरिराजमणि पोखरेल निर्वाचित भएका थिए। पोखरेल ५ दलीय गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार छन्। ०७४ को निर्वाचनमा निर्वाचित पोखरेल २३७७६ मत प्राप्त गरेका थिए भने पराजित महतोले १९,४९२ मत पाएका थिए। मओवादी केन्द्रका पोखरेल संविधान सभाको निर्वाचन २०६४, २०७० र प्रतिनिध सभा निर्वाचन २०७४ गरी तीन पटक महोत्तरी( १ बाटै निर्वाचित भएका हुन्।