विराटनगर– धरानमा १० हजार जनामा डेंगु संक्रमण पुष्टि भएको छ भने ११ जनाको मृत्यु भएको छ।
धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार आइतबारसम्म १० हजार २१८ जनामा डेंगु संक्रमण देखिएको छ। परीक्षण गरिएका मध्ये ७१ प्रतिशतमा डेंगु संक्रमण पुष्टि भएको उनले जानकारी दिए।
डेंगुका कारण धरानमा ११ जनाको मृत्यु भएको छ। मृत्यु हुने १० वर्षदेखि ८४ वर्षसम्मका छन्। मृतक ११ जनामध्ये एकजना उदयपुरका छन्। बाँकी १० जना धरानका हुन्।
स्वास्थ्य महाशाखा प्रमुख मेहताले दिएको जानकारी अनुसार साउन १७ गते धरान १५ की ४६ वर्षीया एक महिला र साउन १८ गते धरान ११ का २१ वषर्षीय पुरुषको मृत्यु भएको छ। उनीहरुको मृत्युको जानकारी १० दिनपछि मात्रै उपमहानगरलाई भएको थियो।
धरानमा डेङ्गुका कारण जेठ २३ गते ३० वर्षीय महिला, असार १५ गते ४०, वर्षीय महिला, साउन २ गते ७९ वर्षीय पुरुष र ८४ वर्षीय महिला, साउन ३ गते ५३ वर्षीय महिला, साउन ७ गते ५६ वर्षीय पुरुष, १० गते २९ वर्षीय महिला र साउन ११ गते १० वर्षीय बालिकाको मृत्यु भएको थियो।
धरानमा घर(घरमा डेंगु संक्रमित छन्। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र निजी स्वास्थ्य संस्था डेंगुका बिरामीले भरिएका छन्। संक्रमितको उपचारका लागि वडा कार्यालयहरुमा पनि बिरामीलाई राख्ने गरिएको छ। सभागृह र उद्योग वाणिज्य संघमा पनि संक्रमितलाई राखेर उपचार भइरहेको मेहताले जानकारी दिए।