काठमाडौं– आज साउन सोमबार पशुपतिनाथ सहित देशभरका विभिन्न मन्दिर, शिवालयहरुमा श्रद्धालुहरुको भीड लागेको छ।
साउनको सोमबारलाई भगवान शिवकोविशेष दिन मानिने भएकाले यो दिन श्रद्धालुहरु व्रत, पूजापाठ, दान लगायतका विभिन्न पुजा आराधाना गर्दछन्।
.
साउने सोमबारको दिन शिवको पूजा गर्दा सुख, शान्ति, समृद्धि, र परिवारको कल्याण हुने धार्मिक विश्वास छ।
यही विश्वासका साथ काठमाडौंको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको महादेव भनेर चिनिने हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको शिरेश्वर र कलानेश्वर लगायत शिवालयहरुमा पनि पूजापाठ गर्नेहरुको घुइँचो छ।
चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाटधाममा पनि साउनको अन्तिम सोमबार पूजा गर्नेहरुको घुइँचो लागेको छ। बोलबम तीर्थालुहरुको पनि देशभरका शिवालयमा घुइँचो छ।

बोलबम तीर्थालुहरुले काठमाडौंको सुन्दरीजलबाट ल्याइएको जल पशुपतिमा चढाएर पूजापाठ गर्दछन्।
गतेका हिसाबले आज साउनको अन्तिम सोमबार भए पनि तिथिका हिसाबले साउनका अझै दुई वटा सोमबार बाँकी रहेको धर्मशास्त्रका जानकार डा। वासुदेवकृष्ण शास्त्रीले जानकारी दिए। ‘मलमासका कारण भदौ ४ गते र ११ गते गरी दुई वटा साउने सोमबार बाँकी नै छन्’, उनले भने।
उनका अनुसार साउन महिना जनैपूर्णिमाको दिन मात्र सकिन्छ। यस वर्षको जनैपूर्णिमा भदौ ११ गते छ। ‘त्यसैले साउनको अन्तिम सोमबार भदौ ११ गते हो, मलमासका कारण भदौमा पनि साउने सोमबार परे’, उनले भने।

