गुरु द्रोणको आश्रममा पाण्डव र कौरव शिष्यहरूले शस्त्रविद्यामा राम्रै प्रगति गरिरहेका थिए। गुरु पनि प्रसन्न थिए। उनी आफ्ना शिष्यहरूको योग्यता जाँच्न अनेक परीक्षा लिन्। एक दिन गुरु द्रोणाचार्यले शिष्यको परीक्षा लिने विचार गरे। उनले दुर्योधनलाई बोलाएर भने– दुर्योधन, तिमी नजिकको गाउँबाट एकजना असल मान्छे खोजेर ल्याऊ।
‘हवस् गुरुदेव’ भन्दै दुर्योधन निस्किए। केही दिनपछि उनी एक्लै आश्रममा फर्किए। गुरुको अगाडि हात जोडेर उनले भने– गुरुदेव, मैले धेरै गाउँ र सहरको भ्रमण गरेँ। तर, कुनै असल मानिस भेट्न सकिनँ।
ठीकै छ, तिमी दुःखी नबन भन्दै गुरुले युधिष्ठिरलाई बोलाए। उनले भने– युधिष्ठिर, तिमी आसपासको गाउँमा जाऊ र एकजना खराब मानिस खोजेर ल्याऊ। ‘हवस् गुरुदेव’ भनेर बाटो लागे। केही दिनपछि उनी पनि एक्लै आश्रममा फर्किए। गुरुले सोधे– युधिष्ठिर, तिमीले मैले भनेअनुसार खराब मानिस ल्यायौ त ? हात जोडेर युधिष्ठिरले भने– गुरुदेव, मैले सबैतिर खराब मान्छे खोजेँ, तर त्यस्तो मान्छे कतै पनि पाइनँ। सबै राम्रैराम्रा मान्छे मात्र भेटिए।
युधिष्ठिरको कुरा सुनेर सबै शिष्यले सोधे– गुरुदेव, दुर्योधनले कोही पनि असल मान्छे भेटेनन् भने युधिष्ठिरले खराब मानिस भेटेनन्। यो कसरी सम्भव भयो ?मुसुक्क मुस्कुराउँदै द्रोणले भने– यो सब आ–आफ्नो दृष्टिको प्रभाव हो। फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार भनेको यही हो।