सभामुख सापकोटाले गरे उम्मेदवार नबन्ने घोषणा - Chaitanya News
  • 2026-04-24
  • 15:21:26
  • शुक्रबार,बैशाख ११, २०८३
  • सभामुख सापकोटाले गरे उम्मेदवार नबन्ने घोषणा

    सभामुख सापकोटाले गरे उम्मेदवार नबन्ने  घोषणा

    काठमाडौं– प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन। सिंहदरवारमा शनिबार पत्रकार सम्मेलन गरी सभामुख सापकोटाले सो घोषणा गरेका हुन।

    लगातार तीन पटकसम्म आफूलाई निर्वाचित गराएर राष्ट्रिय भूमिका निर्वाह गर्ने र जनताको सेवा गर्ने अवसर दिएको भन्दै सिन्धुपाल्चोकका मतदाताप्रति उहाँले आभार व्यक्त गरे। सभामुख सापकोटाले आफू संसदीय भुमिकामा नरहे पनि देश, जनता र अग्रगमनको पक्षमा निरन्तर क्रियाशील रहने प्रतिवद्धता व्यक्त गरे।

    अग्रगामी राजनीतिक अभियन्ता मार्फत आम नेपाली नागरिकको समुन्नतिका लागि आफ्नो बुद्धि र विवेकले भ्याएसम्म काम गर्ने उहाँको भनाइ छ। सभामुख सापकोटाले राज्य र जनताले आवश्यक ठानेमा जुनसुकै जिम्मेवारी बहन गर्न तयार रहने प्रष्ट पारे।

    राजनीतिक एवम सामाजिक मञ्चमार्फत सबै नेपालीको स्वाभिमान र आत्मविश्वास उचो बनाउन काममा कुनै कमी आउन दिने छैन।” उहाँले भन्नुभयो, ‘मलाई लगातार तीन पटक निर्वाचित गरी राष्ट्रिय भूमिका निर्वाह गर्ने र जनताको सेवा गर्ने अवसर दिएकोमा सिन्धुपाल्चोकका मतदाता एवम जनसमूदायमा आभार व्यक्त गर्दछु।”

    सिन्धुपाल्चोक र खासगरी क्षेत्र नम्बर १ का मतदाता एवम् शुभचिन्तकहरुले पुनः जनप्रतिनिधिको भुमिका निर्वाह गरोस् भन्ने शुभेच्छा राख्नुभएकोमा पनि उनले धन्यवाद व्यक्त गरे। संसदीय भुमिकामा नरहे पनि म देश, जनता र अग्रगमनको पक्षमा निरन्तर क्रियाशील भइरहनेछु उनले बताए।

    सभामुख सापकोटा २०६४ को पहिलो संविधान सभा र २०७० को दोस्रो संविधान सभामा सिन्धुपाल्चोक क्षेत्र २ बाट निर्वाचित भएको थियो। २०७४ को निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए। तत्कालिन सभामुख कृष्णबहादुर महरामाथि बलात्कार आरोप लागेपछि उनले राजिनामा दिए। माओवादी केन्द्रबाट सभामुख बन्ने अवसर उनलाई प्राप्त भयो।