काठमाडौं– आसन्न निर्वाचनको उम्मेदवारी दर्ता गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई सँगै गोरखा जाने भएका छन्।
बाबुराम चुनाव नलड्ने भएपछि प्रचण्ड गोरखा २ बाट चुनाव लड्ने भएका हुन्। उनले गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गराउँदैछन्। यसअघिको निर्वाचनमा गोरखा २ बाट बाबुराम भट्टराई निर्वाचित भएका थिए। उनले माओवादीका नारायणकाजी श्रेष्ठलाई हराएका थिए।
यसअघि माओवादीको चुनाव चिह्नबाट बाबुरामले प्रतिस्पर्धा गर्ने भनिएको थियो तर अन्तिम समयमा माओवादी अध्यक्ष प्रचण्डले अघिल्लो पटक आफू निर्वाचित भएको चितवन क्षेत्र नम्बर ३ छाडेर गोरखा २ रोजे।
माओवादीले अध्यक्ष प्रचण्डलाई गोरखा २ बाट प्रतिस्पर्धा गराउने भएपछि बाबुरामले ट्विट गर्दै प्रचण्ड गोरखाबाट चुनाव लड्नुमा ठूलो सांकेतिक महत्व रहेको भन्दै उनलाई ‘अन्तर हृदयदेखि स्वागत’ गरेको बताएका छन्।
निर्वाचन आयोगले आइतबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरेको छ।