गोरखा– गोरखामा भेटिएको चम्किलो ढुंगा क्वार्ज क्रिष्टल भएको पुष्टि भएको छ। ढुंगा गोरखा नगरपालिका–७ सतिपीपलस्थित राममाया शाहीको घरबाट प्रहरीले बरामद गरेको थियो।
खानी तथा भूगर्भ बिभागबाट आएको टोलीले परीक्षणपछि उक्त ढुंगा क्वार्ज क्रिष्टल भएको पुष्टि गरेको हो। टोलीले बुधबार ढुंगा परीक्षणको रिपोर्ट जिल्ला प्रशासन कार्यालयमा बुझाएका छन्।
बिभागबाट आएकी भूगर्भविद डा. सुस्मिता भण्डारीले उक्त ढुंगा महत्वपूर्ण र बहुमूल्य रत्नपत्थर भएको बताइन्। भूगर्भविदको टोलीले ढुंगाको नापतौल लिनुका साथै यसको विभिन्न प्राविधिक पक्षबारे पनि परीक्षण गरेको थियो।
संसारभरका धातुलाई कडापनका आधारमा १० समूहमा वर्गीकरण गर्ने गरिएको बताउँदै भूगर्भविद डा. भण्डारीले कडापनका आधारमा उक्त चट्टान ७ औं नम्बरमा रहेको जानकारी दिए। कडापनका आधारमा हिरा १० औं नम्बरमा पर्ने उनको भनाइ छ।
उक्त क्वार्ज क्रिष्टल मुख्य रुपमा गरगहना बनाउन, सजावटका सामग्री बनाउन प्रयोग हुने गरेको विभागको टोलीले बताएको छ। घडी, कम्प्युटर, रेडियो ट्रान्समिटर जस्ता विद्युतीय उपकरणहरुमा पनि आंशिक रुपमा क्वार्ज क्रिष्टलको प्रयोग हुने बताइएको छ।
अध्ययन टोलीले जिल्ला प्रशासन कार्यालयलाई बुझाएको पत्रमा उक्त ढुंगा खानी तथा भूगर्भ विभागलाई उपलब्ध गराउन पनि भनिएको छ।
खानी तथा खनिज पदार्थ ऐन २०४२ को दफा २५ को उपदफा १ अनुसार खनिज कार्य गर्ने अनुमति नलिई उत्खनन् तथा संकलन गरिएकाले उक्त पत्थर विभागलाई उपलब्ध गराई सहयोग गर्न पत्रमा भनिएको छ।
विभागको अनुमति नलिई कसैले पनि यस्ता खनिज पदार्थ उत्खनन र संकलन गर्न नपाइने र गरेमा १ लाख रुपैयाँसम्म जरिवाना हुने कानूनी प्रावधान रहेको भूगर्भविद् भण्डारीको भनाइ छ।
विभागको टोलीसँगको भेटमा गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानाले ऐतिहासिक र धार्मिक हिसाबले उक्त पत्थरलाई गोरखामै राख्नुपर्ने धारणा राखे। जिल्लास्थित दर्जन बढी सामाजिक संघसंस्थाले पनि उक्त पत्थरलाई गोरखा दरवार परिसरमा राखेर संरक्षण गर्न माग गरेको उनले बताए।