काठमाडौँ– सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव डा.दामोदर रेग्मीले सार्वजनिक खरिदलाई वित्त व्यवस्थापन सुधारको मूल एजेण्डा बनाइने भएको बताएका छन।
खरिदको प्रभावकारिताले पुँजीगत खर्च बढ्ने मात्र नभई विकास निर्माणका काममा समेत तीव्रता आउने भएकाले सार्वजनिक खरिदलाई वित्त व्यवस्थापनको एउटा महत्त्वपूर्ण पाटोका रूपमा लिने गरिएको छ।
रेग्मीले सार्वजनिक खरिद सार्वजनिक वित्त व्यवस्थापन सुधारको मूल एजेण्डा रहेकाले सोहीअनुरूप अगाडि बढ्ने प्रयास गरिरहेको बताए। उनले भने, ‘सार्वजनिक खरिद प्रक्रिया आफैँमा प्राविधिक जटिल प्रकृतिको विधा भएको र यसमा बहुसरोकारवालाको सहभागिता हुने भएकाले यसमा निरन्तर परामर्श र सहकार्यको आवश्यकता छ।
सार्वजनिक खरिदसम्बन्धी कानुनलाई सामयिक र व्यवहारिक बनाउने तथा खरिद कानुनको कार्यान्वयनलाई प्रभावकारी बनाउन सबै सार्वजनिक निकायले बुझ्ने र सहजरुपमा प्रयोग गर्न सक्ने गरी सरल निर्देशिका तयार गर्नपर्ने हुन्छ। स्थानीय तहको खरिद क्षमता अभिवृद्धि गर्न सरल निर्देशिकालगायत विषय आवश्यक पर्ने सचिव रेग्मी बताउछन्।
सार्वजनिक खरिदसम्बन्धी कार्यविधि, प्रक्रिया तथा निर्णयलाई अझ बढी खुला, पारदर्शी, वस्तुनिष्ठ र विश्वसनीय बनाउन खरिद प्रक्रियामा प्रतिस्पर्धा, स्वच्छता, इमान्दारीता, जबाफदेहिता र विश्वसनीयता प्रवर्द्धन गर्न आवश्यक देखिएको छ। सार्वजनिक खर्चको अधिकतम प्रतिफल हासिल गर्न सार्वजनिक निकायबाट निर्माण कार्य गराउँदा तथा मालसामान, परामर्श सेवा एवं अन्य सेवा खरिदमा उत्पादक, विक्रेता, आपूर्तिकर्ता, निर्माण व्यवसायी वा सेवा प्रदायकलाई बिना भेदभाव सहभागी हुने अवसर प्रदान गर्ने विषयलाई कार्यालयले जोड दिँदै आएको छ।
सचिव रेग्मीले सुशासनको प्रत्याभूति गर्न र सहज व्यावसायिक वातावरणको निर्माणमा खरिद क्षेत्रको सकारात्मक योगदान वृद्धि गर्न सहज प्रतिक्रियात्मक व्यवस्था गरिने स्पष्ट गरे। सबै सार्वजनिक निकायको खरिद एकाइलाई सक्षम बनाउनेतर्फ कार्यालयले यस आर्थिक वर्षमा सघनरुपमा तालिम सञ्चालन गर्ने र प्रदेश र स्थानीय तहमा खरिद कार्यको क्षमता अभिवृद्धि गर्न विद्युतीय खरिदका तालिम सञ्चालन गर्ने भएको छ।
प्रोक्युरमेन्ट क्लिनिकको अवधारणाको प्रयोग गर्दै कार्यालयले सबै स्थानीय तह र सकभर वडा तहसम्म यस्ता तालिम र अन्तरक्रियात्मक कार्यक्रममा तीव्रता दिने जनाएको छ। प्राविधिक मन्त्रालयबाट सञ्चालन हुने मेगा प्रोजेक्टको खरिद प्रक्रियालाई सहज बनाउन तदनुरूपको स्ट्यान्डर्ड बिडिंग डकुमेन्टको निर्माण तथा राशन र औषधि खरिदको लागि स्ट्यान्डर्ड बिडिंग डकुमेन्टको निर्माण, सट्टापट्टामा आधारित खरिद अर्थात् बाइ ब्याक मेथडको कार्यविधि निर्माणजस्ता विषय कार्यालयले प्राथमिकतामा राखेको छ।