काठमाडौँ– नेकपा माओवादी केन्द्र का प्रवक्ता अग्नि सापकोटाले तीन महिने अभियान पार्टीका लागि अन्तिम परीक्षा भएको बताएका छन।
आज (बुधवार) पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘प्रवक्ता–पत्रकारबीच भेटघाट’ कार्यक्रममा तीन महिने अभियान पार्टीका लागि अन्तिम परीक्षा भएको बताएका हुन्।
उनले भदौ १६ गतेदेखि ‘जनतासँग माओवादी–विशेष रूपान्तरण अभियान’ शुरु हुने र त्यस दिन देशभरका छ हजार सात सय ४३ वटा वडामै एकसाथ उद्घाटन हुने बताए। यो अभियान पार्टीको अन्तिम परीक्षाजस्तो भएको भन्दै उहाँले आफूहरू सामूहिक रूपमा उत्तीर्ण हुने विश्वास व्यक्त गरे।
उहाँले भन्नुभयो, ‘भदौ १६ गते छ हजार सात सय ४३ वडामा एकैसाथ अभियान उद्घाटन हुन्छ। अध्यक्षले सात प्रदेशको सात वटा वडाको जिम्मा लिनुभएको छ। हामीले पनि जिम्मा लिएका छौँ। यसमा हामी वैचारिक पुनः गठन, राजनीतिक पुनः गठन, सङ्गठनात्मक पुनः गठन र सांस्कृतिक पुनः गठनका कुरा गर्छौँ। यो हाम्रो करिब करिब अन्तिम परीक्षा जस्तै छ। मलाई विश्वास छ हामी यो परीक्षामा उत्तीर्ण हुन्छौँ। यो तीन महिने अभियान सफल हुन्छ।