बर्दियाको बबई नदीको पानी बस्तीमा पस्दा ७० भन्दा बढी घरपरिवार विस्थापित - Chaitanya News
  • 2026-04-24
  • 13:39:14
  • शुक्रबार,बैशाख ११, २०८३
  • बर्दियाको बबई नदीको पानी बस्तीमा पस्दा ७० भन्दा बढी घरपरिवार विस्थापित

    बर्दियाको बबई नदीको पानी बस्तीमा पस्दा ७० भन्दा बढी घरपरिवार विस्थापित

    बर्दिया– बर्दिया जिल्लामा बबई नदीको पानी बस्तीमा पसेपछि ७० भन्दा बढी घरपरिवार विस्थापित भएका छन्।

    जिल्लाको गुलरिया नगरपालिका वडा नम्बर ५, ८, ११ र १२ नम्बर वडामा बबईको बाढी पसेपछि उनीहरू विस्थापित भएका हुन्।

    लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका प्रहरी निरीक्षक रामबहादुर जिसीका अनुसार वडा नम्बर ५ मा ३५, वडा नम्बर ८ मा २४, वडा नम्बर ११ मा १२ र वडा नम्बर १२ मा ३ घर डुबानमा परेको भन्ने सूचना प्राप्त भएको छ।

    वडा नम्बर ५ का विस्थापितहरूलाई स्थानीय शान्ति आधारभूत विद्यालयमा, वडा नम्बर ८ र ११ कालाई नेपाल रेडक्रस सोसाइटीले प्रदान गरेको त्रिपालको पाल टाँगेर अग्लो स्थान सडकको सुरक्षित स्थानमा र वडा नम्बर १२ काहरू आफन्तको घरमा आश्रय लिइरहेको सूचना प्राप्त जानकारी उनले दिए।

    जिल्ला प्रहरी प्रमुख एसपी वीरेन्द्रबहादुर शाहीले २५० जति स्थानीय बाढी घरमा पसेपछि विस्थापित भएको र उनीहरूलाई सुरक्षित स्थानमा स्थान्तरण गरिएको सेतोपाटीलाई बताए। उनका अनुसार केही विद्यालयमा, केही मानव बचाउ घरमा बसेका छन् र केही विस्थापितहरू आफन्तकोमा आश्रय लिइरहेका छन्।

    डुबानमा परेकाहरूको उद्धारका लागि प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना खटिएको उनले बताए।

    अहिले पनि पानी पर्ने क्रम जारी छ।

    बबईको बाढी र निरन्तर वर्षाका कारण घर डुबानमा परेको तर बिहीबारको तुलनामा शुक्रबार बाढीको सतह घटेको उनले जानकारी दिए।