काठमाडौँ– नेविसंघको असन्तुष्ट पक्षले केन्द्रीय कार्यालयमा भेला गर्न नदिएपछि पार्टी सभापति शेरबहादुर देउवाको घर घेर्ने चेतावनी दिएको छ।
केन्द्रीय कार्यालयमा भेला आयोजना गरेर समानान्तर समिति गठनका लागि गएका विद्यार्थी नेताहरूलाई सडकमै प्रहरी लगाएर रोकिएपछि केहीबेर दुई पक्षबीच झडपको अवस्थासमेत आएको छ।
सभापति दुजाङ शेर्पा पक्ष नाराबाजी गर्दै सोही ठाउँमा पुगेपछि सामान्य झडप समेत भएको थियो। प्रहरीले दोहोरो झडप हुन नदिन बीचमा बसेर रोकेको छ। भाडाका गुण्डा र प्रहरी लगाएर आफूहरूलाई रोकिएको भन्दै भोलि देउवाको घर घेराउ गर्न जाने उनीहरूले बताएका छन्।
नेविसंघको ७१० सदस्यीय केन्द्रीय कार्य समिति गठन भए पनि विवाद बढेको छ। असन्तुष्ट नेताहरूले समानान्तर कार्य समिति घोषणा गर्ने तयारी थालेका छन् भने दुजाङ पक्षले भेलामा सहभागी नहुन चेतावनी दिएको छ।