बुद्धको प्रेरक भनाई- दुःख निवारण कसरी गर्ने? - Chaitanya News
  • 2026-11-19
  • 01:40:01
  • बुधबार,मंसिर ०३, २०८३
  • बुद्धको प्रेरक भनाई- दुःख निवारण कसरी गर्ने?

    बुद्धको प्रेरक भनाई- दुःख निवारण कसरी गर्ने?

    एकपटक बुद्ध आफ्ना शिष्यहरूका साथमा संवादमा व्यस्त थिए। उनीहरू बुद्धसित अनेक प्रश्न सोधिरहेका थिए। बुद्ध पनि यथोचित उत्तर दिएर उनीहरूको जिज्ञासा शान्त बनाइरहेका थिए । यसै क्रममा एक शिष्यले उनलाई सोधे– भगवान्, तपाईंले आजसम्म हामीलाई धेरै कुराको ज्ञान दिएर बाटो देखाउनुभएको छ। हामी पनि हजुरजस्तो महान् गुरुका शिष्य बन्न पाउँदा धन्य भएका छौँ । तर, हजुरले आजसम्म हामीलाई मानिसको मृत्युपश्चात् के हुन्छ भन्ने विषयमा केही पनि बताउनु भएको छैन। यस विषयमा केही जान्न पाए हुन्थ्यो प्रभु!

    उनको जिज्ञासा सुनेर बुद्ध मन्दमन्द मुस्कुराए। एकैछिन मौन रहे। एकछिनपछि गम्भीरतापूर्वक उनले भने— हो त है, मैले यसबारे तिमीहरूलाई केही पनि बताएको छैन । ठीकै छ, आज म तिमीहरूलाई यसबारे बताउँछु। तर, यसबारे बताउनुअघि तिमी मेरो एक प्रश्नको जवाफ देऊ है! उनका शिष्यले भने— आज्ञा होस् प्रभु!

    बुद्धले भने- एकजना मानिस सुनसान जंगलको बाटो कतै जाँदै थियो। अचानक कतैबाट आएर एउटा विषालु बाण उसको शरीरमा घुस्यो । यस्तो अवस्थामा उसले तत्काल के गर्नु उचित हुन्छ ? पहिले शरीरमा घुसेको बाण हटाउनु ठीक हुन्छ कि त्यो बाण कसले चलाएको थियो, कताबाट आएको थियो र कसलाई लक्ष्य गरेर चलाइएको थियो, त्यो पत्ता लगाउनु उचित हुन्छ ? प्रश्नकर्ता शिष्यले जवाफ दिए— उसले सबैभन्दा पहिले शरीरमा घुसेको बाण निकाल्नुपर्छ। अन्यथा बाणको विष पूरै शरीरमा फैलिएर उसको ज्यानै पनि जान सक्छ।

    शिष्यको जवाफ सुनेपछि मन्द मुस्कुराउँदै बुद्धले भने— तिमीले बिल्कुलै ठीक भन्यौ। अब तिमी मलाई अर्को एउटा प्रश्नको जवाफ देऊ । हामीले सबैभन्दा पहिले यस जीवनका दुःखको निवारणको उपाय खोज्नु ठीक हुन्छ कि मृत्युपछि के हुन्छ भनेर टाउको दुखाउनु ठीक होला ? बुद्धको प्रश्न सुनेपछि शिष्यको जिज्ञासा शान्त भयो।