मकवानपुर – पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको तीन नम्बर पुल नजिक हिजो भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १७ पुगेको छ।
भरतपुर अस्पतालमा गएराति बारा कलैयाकी १२ वर्षीया कृतिका चौधरीको ज्यान गएपछि मृतकको संख्या १७ जना पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बामदेव गौतमले जानकारी र्दिए।
हिजो हेटौंडा र चितवनका अस्पतालमा गरी १६ जनाले ज्यान गुमाएका थिए। ज्यान गुमाएका सबै १७ जनाको परिचय खुलेको छ।
हेटौंडा अस्पतालमा ल्याइएका मृतकको शव पोष्टमार्टम गरी आफन्तले बुझेका छन्। घाइतेमध्ये २१ जनाको चितवन, आठ जनाको वीरगञ्ज र पाँच जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ।
ज्यान गुमाउनेमा बारा कलैया उपमहानगरपालिकाका लीलाराज चौरसिया, चितवन खैरहनी नगरपालिका–५ की नन्दकुमारी पुडासैनी, चितवन कालिका नगरपालिकाका १५ वर्षीय बालक सफल कँडेल, चितवन खैरहनी–५ का मनोरथ पुडासैनी, बाराका ५५ वर्षीय राम आश्रय राय, पर्सा–१६ की मुन्ननी देवि चौरसिया, पर्साकै सखुवा प्रसौनी गाउँपालिका ६ का दया राउत शंकर रहेका छन्।
त्यस्तै हेटौंडा–७ की करिब ५५ वर्षीया शुभलक्ष्मी श्रेष्ठ, त्यसै ठाउँको २० वर्षीया स्वस्तिका श्रेष्ठ, बारा–कलैया–१० का नगरिन खातुन, बारा–अमलेखगञ्जका सुरेश विक, बारा–कलैया का इन्ताज अन्सारी, जनकपुर उपमहानगरपालिका–५ का ५० वर्षीय सन्तोषकुमार राय, ओखलढुङ्गाका करिब ४५ वर्षीय लालबहादुर बोगटी गोर्खाका अम्बिका कँडेल र पर्सा–१६ का सोम प्रसाद चौरसिया रहेका छन्।
चार जना भारतीय नागरिकलाई आफन्तले भारतमा नै लगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।