बाढी– पहिरोका कारण अहिलेसम्म कुन–कुन राजमार्ग प्रभावित भए? - Chaitanya News
  • 2026-11-18
  • 21:19:25
  • बुधबार,मंसिर ०३, २०८३
  • बाढी– पहिरोका कारण अहिलेसम्म कुन–कुन राजमार्ग प्रभावित भए?

    बाढी– पहिरोका कारण अहिलेसम्म कुन–कुन राजमार्ग प्रभावित भए?

    काठमाडौं– सोमबार रातिदेखि आएको अविरल वर्षा र बाढी–पहिरोका कारण देशैभर मुख्य राजमार्ग प्रभावित बनेका छन्। नेपाल प्रहरीले गरेको पछिल्लो अपडेट अनुसार देशभर दर्जनौं राजमार्ग अवरुद्ध बनेका छन्।

    काठमाडौं:

    काठमाडौंको लाइफलाइन मानिने नारायणगढ–मुग्लिन सडक खण्डको कालिखोलामा गएको पहिरोका कारण यो सडक एकतर्फी मात्र सञ्चालनमा आएको छ। यो सडक खण्ड आज बिहानैबाट बन्द भएको थियो।
    कालिगण्डकी
    कालिगण्डकी करिडोर अहिले अवरुद्ध भएको छ। यस करिडोरको बागलुङ नगरपालिका १० गलुवामा पहिरोले सडक अवरुद्ध बनाएको छ। सिद्धार्थ राजमार्ग समेत अहिले एकतर्फी मात्र सञ्चालनमा छ। तिनहुँ गाँउपालिका पाल्पाको ड्याम साइडमा गएको पहिरोले यो सडक खण्ड प्रभावित बनेको हो। भिमदत्त राजमार्ग अहिले अवरुद्ध छ।

    कैलाली:
    कैलालीको गोदावरी नगरपालिका ४ बुढीतोला र चुरे गाउँपालिकाको गोपालेमा गएको पहिरोले यो सडक अवरुद्ध भएको नेपाल प्रहरीले जनाएको छ। प्यूठानको भालुवाङ सडक खण्ड भने अवरुद्ध भएको छ। यसको माण्डवी गाउँपालिका १ को गर्जेनी भन्ने स्थानमा पहिरोले सडक अवरुद्ध बनाएको हो।

    पाँचथर:

    पूर्वी नेपालतर्फ पाँचथरको तमोर कडिडोर अवरुद्ध बनेको छ। यस जिल्लाको फिदिम ४ मा पहिरो गएको हो। काभ्रेको वीपी राजमार्गमा समेत सडक अवरुद्ध भएको छ। काभ्रेको रोशी गाउँपालिका कालढुंगामा सडक अवरुद्ध बनेको छ। वीपी राजमार्गको सिन्धुली जिल्लाको कमेरेफाँटमा समेत सडक अवरुद्ध भएको नेपाल प्रहरीले जनाएको छ।

    मकवानपुर:

    मकवानपुरको कान्ती लोकपथ समेत अवरुद्ध भएको छ। यस जिल्लाको बकैयास्थित लामराङमा पहिरोले बाटो अवरुद्ध बनेको हो। नुवाकोटको पासाङल्हामु राजमार्ग समेत अवरुद्ध भएको छ। यस जिल्लाको कककी निगालेमा गएको पहिरोले सडक अवरुद्ध बनाएको नेपाल प्रहरीले जनाएको छ।

    म्याग्दी:

    म्याग्दीको बेनी–जोमसोम सडक खण्ड समेत अवरुद्ध भएको छ। यस जिल्लाको रघुगंगास्थित बैसरीमा सडक अवरुद्ध भएको प्रहरीको भनाइ छ।

    डडेलधुरा:
    डडेलधुराको बतुडर–जोगबुढा भित्रि सडक खण्ड समेत आज अवरुद्ध भएको छ। यस जिल्लाको आलितालस्थित सुनखोलामा सडक अवरुद्ध भएको हो।