हेटौंडा- बाढीपहिरोका कारण हेटौंडाबाट काठमाडौं प्रवेश गर्ने दुई वटा सडकमार्ग सोमबार बेलुकादेखि अवरुद्ध भएका छन्।
कान्तिलोकपथक सडक खण्डको बकैया गाउँपालिका—११ लामराङमा पहिरो गएकाले सोमबार बेलुका ८ बजेदेखि सडक अवरुद्ध भएको छ।
सडक माथिवाट खसेको पहिरोसहित ठूलो ढुंगा पन्छाउन नसकेकाले मंगलबार बिहानसम्म पनि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए। ‘सडक विभागसँग समन्वय गरेर डोजर लगेर पन्छाउने तयारी गरिरहेका छौं,’ उनले भने।
यसैगरी हेटौंडाबाट काठमाडौं प्रवेश गर्ने छोटो दुरीको वैकल्पिक हेटौंडा—भैसे, भीमफेदी, कुलेखानी फाखेल काठमाडौं सडकमार्गको भीमफेदी गाउँपालिका—२ को ज्यालाटारमा पहिरो गएकाले सडक सोमबार बेलुका देखि नै अवरुद्ध छ। उक्त स्थानमा ठूलो पहिरो खसेको छ। मंगलबार बिहानदेखि पहिरो पन्छाउने काम भइरहेको प्रहरी जनाएको छ। हेटौंडाबाट राजधानी जाने सवारी साधनहरु त्रिभुवन राजपथ भएर गइरहेका छन्। यस क्षेत्रमा सोमवारदेखि वर्षा भइरहेको छ।