बर्दियाको सदरमुकाममा बाढी पस्यो, ५० घर डुबानमा - Chaitanya News
  • 2026-04-24
  • 13:40:18
  • शुक्रबार,बैशाख ११, २०८३
  • बर्दियाको सदरमुकाममा बाढी पस्यो, ५० घर डुबानमा

    बर्दियाको सदरमुकाममा बाढी पस्यो, ५० घर डुबानमा

    बर्दिया— मंगलबार रातिदेखि परेको अविरल वर्षाले बबई नदीमा आएको बाढीका कारण सदरमुकाम गुलरिया—५ वालापुर डुबानमा परेको छ। बिहान साढे ११ बजेसम्म करिब ५० घर डुबानमा परिसकेका छन्।

    बबईमा जलस्तर बढ्दै गएपछि स्थानीयहरुले सुरक्षित स्थानमा रहेको विद्यालयमा आश्रय लिएका छन्। डुबान बढ्दै गएपछि त्यहाँ सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरेर उद्दार कार्य भैरहेको छ। बाढी थप दर्जनौं घरमा पस्ने क्रममा छ। बबईको जलस्तर हाल ७ दशमलव ५ मिटरमाथि रहेको छ। बबईमा जलस्तर ६ मिटरमाथि पुगेपछि बाढीको सतर्कता नाघेको मानिन्छ।

    प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बाढीसँगै कटानले गुलरियाको प्रयागपुर, वालापुर र हरियाली टोलमा कटान भइरहेको बताए। कटान क्षेत्रबाट सुहेलवा, वालापुरबाट बाढी पसेको छ,’ उनले भने, ‘जलस्तर बढिरहेकोले बाढीको खतरा टरेको छैन। बाढीको पानी पसेर धानखेत डुबानमा पर्दै गइरहेका छन्। तटीय क्षेत्रका बासिन्दा त्रासले घरका सामान सारिरहेका छन्।’

    पानी लगातार परिरहेकोले साँझसम्म बाढीले थप क्षति पर्‍याउने जोखिम बढेको सशस्त्र प्रहरी बल ३१ नम्बर गणका एसपी जहरसिंह बुढामगरले बताए। धनजनको क्षति नहोस् भन्दै थप सुरक्षा बल त्यहाँ परिचालन गरिएको उनले जनाए।

    बबई नदीमा खतराको चिन्हमाथि बग्दै गएपछि तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। पहाडी र हिमाली क्षेत्रमा पानी परिरहेकोले जिल्लाबाट बग्ने खोला, नाला र नदी भरिन थालेका छन्। जल तथा मौसम पूर्वनुमान महाशाखाले भीषण वर्षा हुने अनुमान गरेपछि तटीय क्षेत्रका सर्वसाधरणलाई सजक रहन अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी बास्तोलाले बताए।

    तटीय क्षेत्रका पालिकास्थित वडा अध्यक्षसँग सम्पर्क गरेर सतर्कता रहन र आवश्यक परे प्रशासनको सहयोग लिन आग्रह गरेको प्रजिअ बास्तोलाले जनाए।