सार्वजनिक खरिद अनुगमन कार्यालयको प्रोक्युरमेन्ट क्लिनिक सञ्चालन हुने - Chaitanya News
  • 2026-11-19
  • 01:29:52
  • बुधबार,मंसिर ०३, २०८३
  • सार्वजनिक खरिद अनुगमन कार्यालयको प्रोक्युरमेन्ट क्लिनिक सञ्चालन हुने

    सार्वजनिक खरिद अनुगमन कार्यालयको प्रोक्युरमेन्ट क्लिनिक सञ्चालन हुने

    काठमाडौं- सार्वजनिक खरिद अनुगमन कार्यालयले अर्को एउटा नयाँ अभ्यासको रूपमा प्रोक्युरमेन्ट क्लिनिक अर्थात खरिद चिकित्सालय सञ्चालन गर्ने भएको छ।

    सार्वजनिक खरिद कार्य जटिल र प्राविधिक विषय भएकोले खरिद इकाइ र खरिद कार्यमा संलग्न जनशक्तिको क्षमता विकास र उनीहरूलाई सार्वजनिक खरिदका विषयमा आइपरेका समस्या समाधान गर्ने उद्देश्यले सहभागीबाट समस्या व्यक्त गर्ने र विज्ञले सो समस्या समाधानको तरिका बताइदिने गरि प्रोक्युरमेन्ट क्लिनिक नामक अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गर्न लागेको कुरा सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव डा. दामोदर रेग्मीले बताए।

    डाक्टर प्यासेन्ट मोडलमा सञ्चालन हुने प्रोक्युरमेन्ट क्लिनिक एउटा सफल अन्तर्राष्ट्रिय अभ्यास भएको र यस विधि वाट खरिद कार्यमा संलग्न जनशक्तिको क्षमता विकास गर्न सकिने भएकोले स्थानीय तह र प्रदेशसमेतका कर्मचारीहरूको लागि छिट्टै नै प्रोक्युरमेन्ट क्लिनिक सञ्चालन गरिने कुरा सचिव डा दामोदर रेग्मीले बताए।

    सार्वजनिक खरिद प्रक्रिया आफैमा प्रविधिक विषय भएको र यसका कानुन जटिल प्रकृतिका भएकोले सरल निर्देशिका तयार गरि यो जटिलतालाई सरल बनाउने दिशामा कार्यालयले गृहकार्य गरिरहेको उनले बताए। संघीय कार्यालयका अतिरिक्त प्रदेश र स्थानीय तहका कार्यालयले अनुभूत गरेका समस्या समाधान गर्न यथाशीघ्र सरल निर्देशिका तयार गरिने कुरा उनले बताए।

    यसको साथै अव प्रदेश र स्थानीय तहमा खरिद कार्यको क्षमता अभिवृध्दि गर्न विद्युतीय खरिदका तालिमहरु सघन रूपमा सञ्चालन गरिने उनले बताए। उक्त कार्यालयले भर्खरै वन तथा वातावरण मन्त्रालयका ५० जना कर्मचारीहरुलाई खरिद तालिम दिइसकेको छ। बन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका महानिर्देशक याम प्रसाद पोखरेलले सार्वजनिक खरिद अनुगमन कार्यालयवाट दिइएको खरिद तालिमबाट मन्त्रालय र अन्तरगतका निकायको खरिद क्षमता अभिवृद्धि भएको बताए।