प्रहरीले गोपनीयता कायम गरेन, एकपक्षीय कुरा आयो : सन्दीपका वकिल - Chaitanya News
  • 2026-06-09
  • 21:45:07
  • मंगलबार,जेठ २६, २०८३
  • प्रहरीले गोपनीयता कायम गरेन, एकपक्षीय कुरा आयो : सन्दीपका वकिल

    प्रहरीले गोपनीयता कायम गरेन, एकपक्षीय कुरा आयो : सन्दीपका वकिल

    काठमाडौं– आफ्नो वकिलको उपस्थितिमा आत्मसमर्पण गर्न क्रिकेटर सन्दीप लामिछानेले गरेको मागलाई प्रहरीले अस्वीकार गरेको छ।

    लामिछानेविरुद्ध बलात्कारको आरोप लागेको छ। इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी भएपछि लामिछाने बिहीबार कतार एयरवेजको विमानबाट काठमाडौं आएका छन्। उनले वकिल सरोजकृष्ण घिमिरेको उपस्थितिमा आत्मसमर्पण गर्ने भन्दै सहयोगका लागि आग्रह गरेका थिए।

    अधिवक्ता घिमिरे प्रहरी वृत्त, गौशाला पुगेका थिए। ‘तर म नआइपुग्दै प्रहरी विमानस्थलमा पुगिसकेको रहेछ। गौशालामा आएपछि भेटौं भनेर बसें,’ उनले भने, उहाँहरुले लिएर आउनुभयो। भेट्न खोज्दा निवेदन दिनुपर्छ भन्नुभयो।’

    विमानस्थलबाट नियन्त्रणमा लिएलगत्तै प्रहरीले सन्दीपलाई मेडिकल जाँचका लागि केएमसी अस्पताल लगेको थियो। त्यहाँबाट अहिले उनलाई गौशाला लगिएको छ।

    अधिवक्ता घिमिरेका अनुसार सन्दीपले निरन्तर आफू निर्दोष रहेको र प्रहरीको अनुसन्धानमा सहयोग गर्ने बताउँदै आएका छन्।

    तर जाहेरी पर्दा प्रहरीले गोपनीयता कायम नगरेको र सञ्चार माध्यममा ‘एकपक्षीय’ कुरा आएकाले सन्दीपले सिंगो राज्य आफ्नोविरुद्ध लागेको महसुस गरेको उनले सुनाए। त्यहीकारण उनी मानसिक तनावमा समेत परेको घिमिरेले सुनाए।