चितवन– आँखा पाँक्ने रोग ब्यापक फैलिन थालेपछि चितवनका पालिकाहरुले विद्यालयहरु धमाधम बन्द गर्न थालेका छन्। भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिकाले विद्यालयहरु बन्द गर्ने निर्णय गरेका हो।
भरतपुर महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले आज एक सूचना जारी गर्दै महानगरका २९ वटै वडामा रहेका विद्यालय साउन २२ गतेदेखि २६ गतेसम्म ५ दिन बन्द गर्ने निर्णय भएको जनाएको छ।
आँखा पाक्ने रोगको संक्रमण बृद्धि हुँदै गएको र विद्यालयमा समेत संक्रमणको असर बढ्दै गएको पाईएको हुँदा विशेषज्ञको परामर्श समेतका आधारमा हिउँदे वा वर्षे विदाबाट मिलान गर्ने गरी विदा दिईएको सूचनामा जनाईएको छ।
महानगरले सामुदायिक तथा संस्थागत विद्यालयहरु, प्रारम्भिक बाल शिक्षक, बाल विकास केन्द्र, मन्टेश्वरी, किण्डर गार्डेन बन्द रहने सूचनामा उल्लेख गरेको छ। यस्तैं, रत्ननगर नगरपालिकाले सबै विद्यालयहरुलाई साउन २२ देखि २४ गतेसम्म बन्द गर्न सूचना जारी गरेको छ।
नगरपालिकाका नगर शिक्षा अधिकारी बद्रीनारायण शर्माले आज एक सूचना जारी गरी सबै संस्थागत विद्यालयहरुमा ३ दिन विद्यालय बन्द भनेका छन्।
साथैं पालिकाले विद्यालयहरुलाई बन्दको सूचना जारी गर्नु अघि सचेतना सम्वन्धी कार्यक्रम गर्न पनि भनेको छ। पूर्वी चितवनको खैरहनी नगरपालिकाले यसअघि नै साउन २१ र २२ गते विद्यालय बन्द गर्ने सूचना जारी गरिसकेको छ।
![]()