काठमाडौं– भारतीय पूर्व क्रिकेटर देविका पाल्शिकर नेपाली महिला क्रिकेट टिमको ब्याटिङ प्रशिक्षकमा नियुक्त भएकी छन्।
नेपालले पहिलो पटक नेपाली महिला क्रिकेट टिमका लागि महिला प्रशिक्षक ल्याएको हो। यसअघि कुनै पनि भूमिकामा विदेशी प्रशिक्षकले नेपाली महिला क्रिकेट टोली हेरेका थिएनन्।
अगष्ट २८देखि मलेसियामा हुने आईसीसी वुमन्स विश्वकप टी–२० एसिया क्षेत्र छनोटका लागि नेपाली महिला टिमको ब्याटिङ कन्सल्टेन्टका रुपमा आवद्ध भएकी उनी काठमाडौं आएकी छन्। नेपाल क्रिकेट संघ ९क्यान०ले आइतबार बिहान आफ्नो सामाजिक सञ्जालमार्फत यो कुराको जानकारी दिएको हो।
क्यानले प्रारम्भिक छनोट अन्तर्गत २४ सदस्यीय टोली बन्द प्रशिक्षणमा सकेको छ। हाल महिला टिमको प्रशिक्षण राष्ट्रिय खेलकुद परिषद् (राखेप) का क्रिकेट प्रशिक्षक स्यामसन जंग थापाले टोलीको मुख्य प्रशिक्षकको रुपमा काम गर्दै आएका छन्।
देविकाले भारतबाट एक महिला टेस्ट र १५ महिला ओडिआई खेल खेलेकी छन् । उनी गत वर्ष भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले आयोजना गरेको वुमन्स प्रिमियर लिग (डब्लूपीएल) मा मुम्बई इन्डियन्सको महिला टोलीको ब्याटिङ प्रशिक्षकको रुपमा समेत काम गरेकी थिइन्।
नेपालले अगष्ट २८ देखि ९ सेप्टेम्बरसम्म छनोट खेल खेल्ने ।