काठमाडौं– नेपाली कांग्रेसको शेखर कोइराला समूहले भेला बोलाएको छ। बिहीबार दिउँसो २ बजे काठमाडौंको बपत्तिसपुलीस्थिति अनुपम फुड्ल्याडमा भेला हुन लागेको हो। कोइराला पक्षका नेता गुरुराज घिमिरेका अनुसार भेलामा खबरदारी अभियानको समीक्षा र प्रत्यक्षतर्फ उम्मेदवार बन्न इच्छुक र सक्षम आफ्नो समूहका व्यक्तिको नाम संकलनमा केन्द्रित हुने छ।
कोइराला पक्षका दोस्रो र तेस्रो तहका नेताहरुले पार्टीका समानुपातिक उम्मेदवार बन्दसूची सच्याउन भेला, बैठक र धर्ना समेत गरेका थिए। असोज ३ गते निर्वाचन आयोगमा पेस भएको बन्दसूचीमा हेरफेर पनि भएको छ।
उनले भने, ‘प्रत्यक्षतर्फ उम्मेदवार बन्न इच्छुक र सक्षम हाम्रो पक्षका नेताहरुको नाम संकलन गर्छौँ। ती नामहरू संसदीय समितिमा रहेका नेताहरुलाई बुझाउँछौं।’ संसदीय समितिमा कोइराला पक्षबाट उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्री बद्री पाण्डे र जीवन परियार छन्। अहिले बालुवाटारमा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ।