काठमाडौँ – राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीले प्रधान कार्यालयको निरीक्षण भ्रमण गरेका छन्।
उनले राष्ट्रको भौगोलिक अखण्डता, सार्वभौमसत्ताको संरक्षण र नागरिकको सुरक्षा हेतु विद्यमान समयमा राष्ट्रिय सुरक्षाका सम्बन्धमा समयमै सम्बोधन गर्दै लगिनुपर्ने विभिन्न विषयहरू रहेको हुँदा सम्पूर्ण सुरक्षा निकाय लगायत सरोकारवाला निकायहरुबीच एकीकृत आपसी समन्वयका साथ सहकार्य गर्दै राष्ट्रिय सुरक्षालाई थप प्रभावकारी बनाउँदै लैजानुपर्ने र राष्ट्रिय सूचना प्रणालीको सुरक्षातर्फ पनि सचेत हुन जरुरी रहेको बताए।
सशस्त्र प्रहरी बल नेपालले देशको सीमा सुरक्षालाई उच्च प्राथमिकतामा राखी कार्यसम्पादन गर्दै आइरहेको बताउँदै सीमा सुरक्षा तथा व्यवस्थापनमा अझबढी प्रविधि तथा डिजिटल बोर्डरको अवधारणालाई समेट्दै अघि बढ्नुपर्ने समेत बताए।
निरीक्षण भ्रमणका क्रममा राष्ट्रिय सुरक्षा सल्लाहकार बैरागीले प्रधान कार्यालयबाट सम्पादन भइरहेका विविध गतिविधि तथा कामकारबाहीहरूको जानकारी लिनुका साथै सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयस्थित सङ्ग्रहालय र केन्द्रीय समन्वय कक्षको अवलोकन समेत गरे।