काठमाडौं– चालु आर्थिक वर्ष २०८०–८१ मा नेपाल सरकारका ११ जना सचिवले अवकाश पाउँदैछन्। निजामती कर्मचारीहरुको अभिलेख राख्ने निकाय राष्ट्रिय किताबखाना (निजामती)का अनुसार हाल कार्यरत ११ जना सचिव र सचिव सरहका विशिष्ट श्रेणीका अरु केही कर्मचारी पनि अवकाशमा जाने देखिएको छ।
यही बीचमा केही सहसचिवको सचिवमा बढुवा हुने र ५८ वर्षे उमेरहदका कारण तुरुन्तै अवकाश हुने पनि सम्भावना छ।
निजामती किताबखानाको अभिलेख अनुसार हाल कार्यरतमध्ये प्रधानमन्त्री कार्यालयका सचिव डा. गोपीकृष्ण खनालले ४ भदौमा अवकाश पाउनेछन्।
त्यस्तै शहरी विकास मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ ११ असोजमा, सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव दामोदर रेग्मीको ११ कात्तिकमा, परराष्ट्र सचिव भरतराज पौडेलको २० मंसिरमा र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका ऊर्जा सचिव दिनेशकुमार घिमिरेको ९ पुसमा अवकाश हुँदैछ।
त्यस्तै ६ फागुनमा निर्वाचन आयोगका सचिव सूर्यप्रसाद गौतम र २६ फागुनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी जनसंख्या मामिला हेर्ने सचिव देवकुमारी गुरागाइँ अवकाशमा जानेछन्।
११ चैतमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारी, १७ वैशाख २०८१ मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका शिक्षा सचिव सुरेश अधिकारी, २८ वैशाखमा वन तथा वतावरण मन्त्रालयका सचिव रेवतीरमण पौडेल, १३ असारमा जल तथा ऊर्जा आयोगका सचिव सुशीलचन्द्र तिवारीको अवकाश हुने निजामती किताबखानाको अभिलेख छ।
अवकाशमा जाने सचिवमध्ये खनाल, रेग्मी, गौतम, गुरागाईं, भण्डारी र अधिकारी प्रशासन सेवाका हुन्। त्यस्तै श्रेष्ठ, घिमिरे र तिवारी इन्जिनियरिङ सेवाका हुन्। भरतराज पौडेल परराष्ट्र सेवाका हुन् भने रेवतीरमण पौडेल कृषि समूहका हुन्।
अहिले ५८ वर्ष परा भएका सचिव अनिवार्य अवकासमा जाने व्यवस्था छ भने सचिव भएर ५८ वर्ष पुग्नुअघि नै ५ वर्ष सचिवका रुपमा सेवा अवधि पुरा गरेकाहरुले पनि अनिवार्य अवकाश पाउने व्यवस्था छ।