कृषिमन्त्री भुसाल भन्छन् : शून्य बजेट भएकै कारण सेवा बन्द गर्ने विषय आपत्तिजनक - Chaitanya News
  • 2026-11-17
  • 23:53:15
  • मंगलबार,मंसिर ०२, २०८३
  • कृषिमन्त्री भुसाल भन्छन् : शून्य बजेट भएकै कारण सेवा बन्द गर्ने विषय आपत्तिजनक

    कृषिमन्त्री भुसाल भन्छन् : शून्य बजेट भएकै कारण सेवा बन्द गर्ने विषय आपत्तिजनक

    काठमाडौँ– कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले शून्य बजेट भएकै कारण सेवा बन्द गर्ने कार्य आपत्तिजनकरहेको बताएका छन्। आज (बुधबार) पशु सेवा विभागले राखेको वार्षिक समीक्षा गोष्ठीमा बोल्दै मन्त्री भुसालले यस्तो बताएका हुन्।

    मन्त्री भुसालले भने, ‘कतिपय कार्यालयले कलम र कागज किन्ने पैसा छैन भन्दै सेवा नै बन्द गरेछन्। यहाँभन्दा गैरजिम्मेवारीपन अर्को हुन सक्दैन्।’

    मन्त्री भुसालले शून्य बजेटलाई खुलाउने प्रयास भइरहेको भन्दै यसमा थप चिन्तित नहुन आग्रह गरे। जनताको सेवालाई प्रभावकारी ढंगले अगाडि बढाउन निर्देशन दिँदै मन्त्री भुसालले समस्या राख्ने मात्र नभई समाधानको उपायसमेत खोज्नुपर्नेमा जोड दिए।

    मन्त्री भुसालले सेवा बन्द गर्ने कर्मचारीलाई कारबाही हुने चेतावनी दिए। कुन कार्यालयले सेवा बन्द गरेको हो त्यसको यथार्थ विवरण पेश गर्न पशु सेवा विभागलाई उनले निर्देशन समेत दिए।

    यस्तै मन्त्री भुसालले लम्पी स्किन रोगबाट प्रभावित भएका किसानलाई राहत दिने तयारी भइरहेको बताए। प्रधानमन्त्रीसँग यस विषयमा कुराकानी भएको र राहत दिने आधार, मापदण्ड र प्रक्रिया के कस्तो हुने तत्कालै पशु सेवा विभागलाई गृहकार्य गर्न निर्देशन दिए।