प्रदेश र स्थानीय तहको खरिद प्रतिस्पर्धी क्षमताको विकास गरिने - Chaitanya News
  • 2026-11-19
  • 00:46:45
  • बुधबार,मंसिर ०३, २०८३
  • प्रदेश र स्थानीय तहको खरिद प्रतिस्पर्धी क्षमताको विकास गरिने

    प्रदेश र स्थानीय तहको खरिद प्रतिस्पर्धी क्षमताको विकास गरिने

    काठमाडौं- सरकारको कूल खर्चको लगभग ६० प्रतिशत रकम सार्वजनिक खरिदमार्फत खर्च हुने गर्छ। यसर्थ सार्वजनिक खरिद प्रतिस्पर्धी स्वच्छ र मितव्ययी बनाइने भएको छ।

    सार्वजनिक निकायको खरिद वातावरण प्रतिस्पर्धी र पदाधिकारीहरूमा खरिद तत्परता वृद्धि भएमा मात्र सार्वजनिक खरिद प्रक्रिया प्रभावकारी हुन सक्ने सिचव डा. दामोदर रेग्मीले बताए।

    सार्वजनिक खरिद अनुगमन कार्यालयले सरलीकृत र सवैले बुझ्न सक्ने गरी खरिद निर्देशिका बनाउने भएको डा. रेग्मीको भनाइ छ। सार्वजनिक खरिद प्रक्रिया आफैमा प्रविधिक विषय भएको र यसका कानुनहरू जटिल प्रकृतिका भएकोले सरल निर्देशिका तयार गरी जटिलतालाई सरल बनाउन आफू लागिपरेको उनको भनाइ छ।

    संघीय कार्यालयका अतिरिक्त प्रदेश र स्थानीय तहका कार्यालयहरूले अनुभूत गरेको यो समस्यालाई समाधान गर्न यथाशीघ्र सरल निर्देशिका तयार गरिने उनले बताए। यसको साथै अब प्रदेश र स्थानीय तहमा खरिद कार्यको क्षमता अभिवृद्धि गर्न खरिद तालिम खासगरि विद्युतीय खरिदका तालिम सघन रूपमा सञ्चालन गरिने उनले बताए।

    अब खरिदका तालिम सार्वजनिक खरिद अनुगमन कार्यालय र सम्बन्धित निकायको सहकार्यमा सञ्चालन गरिने र यसवाट खरिद सम्बन्धी जनशक्तिको क्षमता विकास भई खरिद कार्य प्रभावकारी र प्रतिस्पर्धी बन्न जाने कुरा उनले बताए। सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायको खरिद प्रतिस्पर्धी क्षमताको सघन अनुगमनसमेत गर्ने भएको छ।

    सार्वजनिक खरिद कार्यलाई सरल, विधिसम्मत र प्रभावकारी वनाउन सरोकारवालासँगको नियमित अन्तरक्रियामार्फत पृष्ठपोषण लिई थप कार्यनीतिहरु तय गरिने समेत उनले बताए।