काठमाडौँ– नेपाल प्रहरीको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले क्षेत्रीय अनुसन्धान समूह (आरआईटी) पुनः गठन गरेको छ। प्रदेश प्रहरी प्रमुख डिआइजी भरतबहादुर बोहराले वरिष्ठ नायब निरीक्षक डेनीबहादुर स्वाँरको नेतृत्वमा १० सदस्यीय अनुसन्धान समूह गठन गरेका हुन्।
समूहमा प्रहरी सहायक निरीक्षकद्वय दीपेन्द्र किमाडी र अनिलकुमार विष्ट, प्रहरी हवलदार शंकरसिंह कार्की, नरेशराज भण्डारी, प्रहरी सहायक हवलदार तेजबहादुर बोहरा, भरत सिंह, रञ्जित साउद र प्रहरी जवान कुमेन्द्रकुमार थापा र सुशील अवस्थी रहेका छन्।
डिआइजी बोहराले अपराध अनुसन्धानमा दख्खल राख्ने र अनुभवी प्रहरी कर्मचारी भन्दा आफू अनुकूल प्रयोग गर्न मिल्ने व्यक्तिलाई आरआईटीमा राखिएको भन्दै आलोचना भएको छ। अझ प्रहरी सङ्गठनभित्र क्षेत्रीयता र भेगीय पक्षधरता देखाएको आरोप पनि लागेको छ । आरआईटीको नेतृत्वमा छनोट भएका स्वाँर अछामकै भएका कारण पनि बोहरामाथि यस्तो आरोप लागेको हो।
सुदूरपश्चिममा २०७० सालमा पहिलो पटक आरआईटी गठन गरिएको थियो। आरआइटीले लागुऔषध नियन्त्रण, फरार अभियुक्त पक्राउ, जघन्य अपराधको अनुसन्धानको क्षेत्रमा राम्रो काम गरिरहेको भन्दै बेलाबखत पुरस्कृत हुँदै आएको पनि थियो।
पछिल्लो समय वरिष्ठ नायब निरीक्षक केशवराज जोशी नेतृत्वमा रहेको आरआईटीमा कार्यरत सहायक हवलदार दीप पाण्डे र जवान हेमराज भट्टले कञ्चनपुर बेलौरीको फेमली रेष्टुरेन्टका सञ्चालक सुरेशकुमार वडायकमाथि आक्रमण गरेको आरोप लागेको थियो। अहिले उनीहरुमाथि अनुसन्धान भइरहेको छ।