काठमाडौं- महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोपमा कपिलवस्तुको शिवराज नगरपालिकाका स्वास्थ्य शाखा प्रमुखविरुद्ध मुद्दा दर्ता गरिएको छ। नगरपालिकामा कार्यरत महिला कर्मचारीले जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गराएकी हुन्।
राति मदिरा सेवन गरी सहकर्मी महिला कर्मचारीमाथि जबरजस्ती करणी गर्न खोजेको आरोपमा नगरपालिकाको आधारभूत स्वास्थ्य सेवा अस्पतालका प्रमुख तथा सीअहेब लेखनाथ पौडेलसहित उनका साथी भुवन पाण्डेयविरुद्ध जबरजस्ती करणी उद्योग मुद्दा दर्ता गरिएको प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेले जानकारी दिए।
प्रमुख प्रशासकीय अधिकृत पाण्डेका अनुसार मुद्दा दर्ता भएसँगै आरोपित पाण्डेलाई जिम्मेवारीबाट हटाइएको छ।
वडा प्रहरी कार्यालय चन्द्रौटाले सोमबार अदालतबाट पक्राउ पुर्जीसमेत जारी भइसकेको जनाएको छ।
आइतबार साँझ पीडित महिला कर्मचारीहरूले ती जाहेरी दिए पनि सोमबार मात्रै दर्ता भएको र आरोपित दुवैजना सम्पर्कविहीन रहेको प्रहरीको भनाइ छ।