काठमाडौँ — दसैंको घटस्थापना सुरु भएयता असोज १० गतेदेखि १७ गतेसम्ममा कुल १३८० जना सवारी चालक मापसे कारवाहीमा परेका छन्। ट्राफिक प्रहरीका अनुसार करिब एक सातामा यतिका संख्यामा मापसे गरेकाहरु कारवाहीमा पर्नु भनेको धेरै हो।
ट्राफिक प्रहरीका अनुसार यो एक सातामा २०० सवारी दुर्घटनामा परेका छन् भने ती दुर्घटनामा परेर १३३ सामान्य घाइते भएका छन्। साथै, ६ जनाको मृत्यु भएको छ भने ४ जना गम्भिर घाइते भएका छन्।
यस्तै, ट्राफिक प्रहरीले मेकानिकल परीक्षण नगरी प्रयोगमा ल्याइएका ४०० सार्वजनिक सवारीलाई पनि नियन्त्रणमा लिइएको जानकारी दिएको छ। साथै, यात्रुलाई सास्ती दिने ५४ जना विचौलियालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।
यसका साथै ट्राफिक प्रहरीको तथ्यांक अनुसार काठमाडौं उपत्यकामा घटस्थापना सुरु भएयता ६१ हजार ६ सय ४६ सवारी साधनबाट ३ लाख ३ हजार ९ सय ६९ जना यात्रु भित्रिएका छन्। यस्तै ८९ हजार ४ सय ६१ सवारीबाट ७ लाख ५ हजार ६ सय ७२ जना बाहिरिएका छन्।