काठमाडौँ– मावादी केन्द्रका अध्ययक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लम्पी स्किन, डेंगी जस्ता संक्रामक रोगहरुको तत्काल रोकथाम तथा नियन्त्रणका लागि सम्बन्धित निकायसँग समन्वय गर्न निर्देशन दिएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा आइतबार सरकारका मुख्य सचिवसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवहरुसँगको बैठकमा प्रधानमन्त्री ‘प्रचण्ड’ले यस्तो निर्देशन दिएका हुन्।
बैठकमा प्रधानमन्त्री ‘प्रचण्ड’ले निर्माण हुन बाँकी कानूनहरु शीघ्र अगाडी बढाउने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सेवा प्रवाह, राष्ट्रिय गौरवका एवम् ठुला आयोजनाहरुको अनुगमन तथा निरीक्षणको कार्यलाई थप प्रभावकारी बनाउन समेत निर्देशन दिए।
उनले समसामयिक विषयमा हालसम्म भएका गतिविधिहरुको जानकारी समेत लिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता नारायण प्रसाद भट्टले बताए।