आज नवरात्रिको नवौं दिन महालक्ष्मीको पूजा आरधना, तलेजु भवानी दर्शन गर्नेको भीड - Chaitanya News
  • 2026-07-19
  • 20:09:46
  • आइतबार,साउन ०३, २०८३
  • आज नवरात्रिको नवौं दिन महालक्ष्मीको पूजा आरधना, तलेजु भवानी दर्शन गर्नेको भीड

    आज नवरात्रिको नवौं दिन महालक्ष्मीको पूजा आरधना, तलेजु भवानी दर्शन गर्नेको भीड

    काठमाडौं– नवरात्रिको नवौं दिन आज शक्तिस्वरुपा महालक्ष्मी देवीको पूजा आरधना गरिन्छ। विशेषगरी नवमीमा कतिपयले कलपूर्जा, हातहतियारहरूको पूजा गर्छन्। आज कन्याहरूको पूजा गरी भोजनसमेत गराइन्छ।

    आज घटस्थापनाका दिन विधिपूर्वक राखिएको जमरा देवीको मन्दिर तथा अन्य शक्तिपीठहरुमा चढाउने गरिन्छ। आज पनि जमरा घर र दशैं घरमा दुर्गा सप्तशती पाठ गरिन्छ।

    आजै मौलामा पशुबली दिने चलन छ। कोतहरूमा हर्षबढाईं गरी कोतपूजा र निशानपूजा समेत गरिन्छ। शाकाहारीहरूले भने कुभिन्डो, घिरौंला र मूला अर्पण गर्छन्।

    आज उपत्यकाभित्रका दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, बिजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, संकटा, बज्रबाराहीलगायत शक्तिपीठमा बलि चढाउनेहरुको घुइँचो लाग्छ। मानवमा कामुकता, क्रोधीपन, लोभीपन, मोह र अहंकार तथा दुर्भावना उत्पन्न अन्त्यका लागि प्रतिकात्मक रुपमा बलीपूजा गरिएको धार्मिक मान्यता छ।

    आजैका दिन हनुमानढोकास्थित तलेजु भवानीको मन्दिर सर्वसाधारणको निम्ति खुल्ला भएको छ। सर्वसाधारण सबेरैदेखि तलेजु भवानीको दर्शनमा लाम लागेका छन्।